एमालेले प्रभु साहलाई पार्टीबाट निकाल्यो, फेरि ठोक्किन पुगे मूलपार्टी माओवादीमै
  • मूलधार

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेबाट निष्कासन गरेको छ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै साहसहित जिल्ला इन्चार्ज उपेन्द्र साह र सह–इन्चार्ज कुन्दप्रसाद कुशवाहलाई पार्टी विरोध गतिविधिमा संलग्न भएको भन्दै पार्टीको सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह( इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह र सह( इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न रहेकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको छ।’

एमालेले रौतहट ३ मा साहलाई प्रतिनिधिसभा सदस्यको टिकट दिए पनि साहले आफूले पार्टीमा भित्र्याएका व्यक्तिहरुलाई टिकट नदिइएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवारीसँगै नेकपा माओवादी केन्द्र सम्मिलित सत्तारुढ गठबन्धनले साहलाई समर्थन गरेको छ।

पार्टीले दिएको टिकटको अवमूल्यन गरेको भन्दै एमालेले साहलाई पार्टीबाट निष्कासित गरेको छ भने एमालेले रौतहट जिल्ला कमिटी पनि विघटन गरेको छ। कमिटी विघटनसँगै रौतहट जिल्लाको सह–इन्चार्जको जिम्मेवारी उद्धव रेग्मीले पाएका छन् ।

साहको बांगोटिंगो यात्रा

कुनै बेलाका माओवादी साह सशस्त्र युद्धमा भूमिगत थिए । भूमिगत जीवनबाट आएपछि साहले माओवादीबाटै २०६४, २०७० र २०७४ को संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वान जितेका थिए । र, माओवादीबाट पटक पटक गरी तीन पटक मन्त्री भएका थिए।

वाम गठबन्धनसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि साह मन्त्री बने । यसैक्रममा माओवादी र एमाले मिलेर बनेको नेकपामा भाँडभैलो भएपछि एकता तोडियो । सर्वाेच्च अदालतले दुवैलाई फेरि पहिलेकै अवस्थामा पुर्याइदियो ।

नेकपा टुटेपछि साहले मूल पार्टी छाडेर एमाले रोजेका थिए । एमाले रोजेपछि माओवादीले उनको सांसद पद खारेज गर्यो । माओवादीले सांसद पद खारेज गरेपनि चितवनमा भएको एमालेको दसौं महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य बने । र, साहले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं ३ बाट टिकट पाएका थिए ।

  • October 14, 2022 प्रकाशित
  • सम्बन्धित