एसपी त्रिभुवन विष्टको षडयन्त्र असफल, हवल्दारले पाए सफाइ
  • मूलधार

काठमाडौं । दार्चुलामा सशस्त्र प्रहरीको ४४ नम्बर गण छ । त्यो गणमा केही महिना अघिसम्म त्रिभुवन विष्ट नामका एसपीले कमाण्ड सम्हालिरहेका थिए ।

एसपी विष्ट थिए निकै चलाख । गणका आधाजसो प्रहरीलाई बिदा दिन्थे । अनि उनीहरुको रासनको पैशा आफ्नै गोजीमा हाल्थे । यस्तो छु्रद्रता गणकै एक हवल्दारले बाहिर लगे भन्ने आरोप लगाएर विष्टले ती हवल्दारलाई जन्मकैदको सजाय माग गर्दै सशस्त्रकै अदालतमा मुद्दा दर्ता गरे ।

हवल्दारमाथि गणको हातहतियार, खरखजानाबारे गोप्य सूचना बाहिर दिएको अभियोगमा मुद्दा दायर भएको थियो । तर बुधबार झुठो आरोप खेपेका ती हवल्दारले सफाई पाए । दार्चुला सशस्त्र प्रहरीको ४४ नम्बर गणको अनियमितता बाहिर ल्याउदा जेल पुगेका वरिष्ठ प्रहरी हवल्दार नरेश सिंह साहुले सफाई पाएका छन् ।

सशस्त्र प्रहरीको विषेश अदालतका अध्यक्ष तथा महान्याधिवक्ता कार्यालयका नायव महान्याधिवक्ता कृष्णजिवी घिमिरे, डिआइजी कुमार न्यौपाने, गृह मन्त्रालयका सहसचिव रमेश रिजालसहितको संयुक्त इजलाशले सोमबार हवल्दार साहुलाई निर्दोश ठहर गरेको हो । २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत हवल्दार साहुले गण रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा कारागार चलान भएका थिए ।

गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनाधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो । यो अभियोगमा उनि झण्डै ३ महिना कारागार बसे ।

सशस्त्रको उच्च अदालतबाट सफाइ पाएका हवल्दार साहु घर फर्किएको उनको पक्षमा बहस पैरवी गरेका अधिवक्ता श्याम कुमार विश्वकर्माले जानकारी दिएका छन् । हवल्दार साहुको पक्षमा अधिवक्ताद्धय श्यामकुमार विश्वकर्मा र सरोज अधिकारीले बहस गरेका थिए ।

हवल्दार साहुले गणमा कार्यरत जनशक्तिमध्ये आधाजसो विदा बस्ने गरेको सुचना मिडियालाई उपलब्ध गराएका थिए । साहुले सुचना दिएपछि विदामा बस्ने जवानहरुको राशन भत्ता कटौती हुने गरेको र त्यो रकम दार्चुलाका प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने गरेको तथ्य खुलासा भएको थियो ।

एसपी विष्टको कर्तुत छताछुल्ल भएपछि हवल्दार गणको आन्तरिक गोप्य सूचना हातहतियार, गोली गठ्ठा तथा जनशक्ति विवरण समेत खुल्ने गरी सूचना चुहाएको भन्दै उनीविरुद्ध कारवाही गरिपाउ भनि सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरिएको थियो । एसपी विष्टले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न र हवल्दारसँग प्रतिशोध पूरा गर्न झुठो आरोप लगाएर मुद्दा दायर गरेका थिए ।

सशस्त्र प्रहरीले ‘सुरक्षासंग सम्बन्धित सूचना तथा खबरहरु राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनाधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा’ जन्मकैदको सजायँ हुने व्यवस्था छ । हवल्दार साहुविरुद्ध सोहीअनुसारको माग दावीसहित मुद्दा दर्ता गरिएको थियो ।

गत जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ कारागार पठाइएपछि उनको परिवार निराश बनेको थियो ।

तर, सीमा सुरक्षामा खटिने एक प्रहरी जवानमाथि भएको अन्यायविरुद्ध कार्यक्रम सिधा कुरा जनतासँगले श्रखंलाबद्ध रुपमा रिर्पोट प्रस्तुत गरेको थियो । कार्यक्रममा यो विषय उजागर भएपछि प्रहरी हवल्दार साहुको न्यायका लागि सडकमा समेत आवाज उठ्यो । काठमाडौँस्थित माइतीघरमा हाम्रो टीम नेपाल र दी हन्ड्रेड ग्रुपका यूवाहरु र पूर्व सुरक्षाकर्मीहरुले साहुको न्याका लागि प्रर्दशन नै गरेका थिए ।

सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि सुधार हुने आशा हवल्दार साहुले गरेका थिए । तर, गोपनियता कायम हुने विश्वासमा उपलब्ध गराएको हाजिरी विवरणबारे कथित पत्रकार सन्तोष सिंह ठगुन्नाले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि साहुका लागि यो प्रकरण आफैलाई जेलसम्म पु¥याउने कडी बन्न पुगेको थियो । श्रीमती दुर्गा साहुले निर्दोश रहेका श्रीमानले सफाइ पाएको खबर सुनेर खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।

नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृत्यु भएपछि भतिजाभतिजीको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिर कै भरमा परिवार पाल्दै आएका साहुलाई जन्मकैदको माग दाबीसहित झुठो मुद्दा चलाइपछि चौतर्फी बिरोध भएको थियो ।

यता, हवल्दार शाहुलाई झुठो आरोप लगाइएको भन्दै विरोध भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपति बिष्टको जिम्मेवारी खोसेर हेडक्वाटरमा तानिएको थियो । उनीमाथि अहिले पनि छानविन भइरहेको छ ।

  • October 14, 2022 प्रकाशित
  • सम्बन्धित