३१ वर्षअघिका सांसद, जो अहिले पनि चुनावी मैदानमा छन्
  • मूलधार

काठमाडौं । नेपालको राजनीतिमा थुप्रै व्यवस्था परिवर्तन भएर देश संघीय गणतन्त्रात्मक व्यवस्थामा छ । व्यवस्था पटकपटक फेरिए पनि राजनीतिक नेतृत्वको अनुहार भने उही छ । पटकपटक देशको नेतृत्व गरिसक्दा र सरकारले तोकिदिएको वृद्ध भत्ता खाने उमेरका भइसक्दा पनि अझै केही नेताहरू सत्ताको नेतृत्व लिने लोभमा छन् ।

आलोपालो प्रधानमन्त्री बनिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेताहरूलाई अब राजनीतिबाट बिदाइ गर्नुपर्ने आशय सहित समाजिक सञ्जालमा ‘नो भोट अगेन’ अभियान नै चलेको छ । ‘बूढा नेता’ लाई हराउने र युवालाई जिताउनु पर्ने आवज उठिरहेको छ ।

यस्तो चर्चा निर्वाचनको बेला मात्रै नभएर राजनीतिक दलको महाधिवेशनमा समेत चल्ने गरेको पाइन्छ । तर, तीन दशकदेखि निर्वाचन क्षेत्र कब्जा गरेर बसेका केही नेताहरू पनि यसपटक चुनावी मैदानमा छन् ।

प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत बहुदलपछि निरन्तर सांसद बन्ने प्रक्रियामा छन् । ०४८ सालमै सांसद बनेका यी नेता आगामी मंसिर चार गते हुने निर्वाचनमा पनि उम्मेदवारी बनेका छन् ।

आगामी निर्वाचनमा उम्मेदवार बन्नेमध्ये सबैभन्दा पाको उमेरका नेता हुन्, रामचन्द्र र महन्थ । यो पटक तनहुँ- १ बाट उम्मेदवार बनेका रामचन्द्रले ०४८ सालमा पनि सोही क्षेत्रबाट जितेका थिए । त्यसबेला उनी ४८ वर्षका थिए । सोही उमेरका अर्का सांसद थिए महन्थ ठाकुर । अहिले पनि महोत्तरी-३ बाट उनी उम्मेदवार बनेका छन् ।

आगामी निर्वाचन पछि पनि प्रधानमन्त्री बन्ने चाहना रहेका हालका प्रधानमन्त्री देउवा यसपल्ट पनि डडेल्धुराबाट निर्वाचन लड्दै छन् । यो निर्वाचनमा देउवाले जिते ७ पटक सांसद बन्ने छन् । ०४८ मा पहिलोपटक सांसद बन्दा उनी ४४ वर्षका थिए ।

०४८ सालमै सांसद बनेका अर्का नेता हुन्, ओली । जो अहिले पनि चुनावी मैदानमा छन् । आगामी निर्वाचनको लागि उनले झापा-५ बाट उम्मेदवारी दिएका छन् । ०४८ सालमा झापा- ६ बाट निर्वाचन जित्दा उनी ३८ वर्षका थिए ।

यस्तै इलाम-१ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका सम्मानित नेता खनाल पनि ०४८ सालमै सांसद बनेका थिए । त्यो बेला उनी ४० वर्षका थिए । ०४८ सालमै राष्ट्रियसभा सांसद बनेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि रौतहट- १ बाट उम्मेदवारी दिएका छन् । सोही बेला सांसद बनेका विजय गच्छदार यो निर्वाचनमा सुनसरी-३ बाट उम्मेदवारी दिएका छन् । ०४८ मा उनी तेह्रथुमबाट सांसद बनेका थिए ।

०४८ सालमा रुपन्देही- ३ बाट निर्वाचित भएको गृहमन्त्री बालकृष्ण खाँणले यो पटक पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । त्यस्तै सुवास नेम्वाङले यसपटक इमाल-२ बाट र उम्मेदवारी दिएका छन् । उनी पनि ३१ वर्षअघि नै राष्ट्रियसभा सांसद बनेका थिए । ०४८ सालमै पाँचथर- १ बाट निर्वाचित भएका बसन्तकुमार नेम्वाङ यो पटक पनि पाँचथरबाटै उम्मेदवारी दिएका छन् ।

त्यस्तै विरोध खतिवडा मकवानपुर- २, राजेन्द्र पाण्डे धादिङ- १, दिलेन्द्रप्रसाद बडु दार्चुला, लालबाबु पण्डित मोरङ-६, पूर्णबहादुर खड्का सुर्खेत- १, छक्कबहादुर लामा हुम्ला, हृदेयश त्रिपाठीले नवलपरासी-१ बाट उम्मेदवारी दिएका छन् । उनीहरु ०४८ सालै सांसद बनेका थिए ।

  • October 14, 2022 प्रकाशित
  • सम्बन्धित