निर्वाचन आयोगले चिनेन चुनाव चिन्ह ‘डोजर’, डोजर भनेर दिइयो ‘रोलर’
  • मूलधार

काठमाडौं । निर्वाचन आयोग नेपालको गैरजिम्मेवारीले अहिले एक जना उम्मेदवार घरि नयाँबानेश्वर त कहिले कान्तिपथ दौडिरहनुपरेको छ । आयोगले चुनाव चिन्ह उल्टो दिएपछि मतदाताले कुन चिन्हमा भोट हाल्ने ? आयोगले चुनाव नचिनेको हो कि चिनेर पनि अर्कै चुनाव चिन्ह भिडाइएको हो ?

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर बाट स्वतन्त्र उम्मेदवार दिएका देव शर्माले चुनाव चिन्ह डोजर पाएका छन् । चुनाव चिन्ह पाएसँगै उनी पनि स्वतन्त्र रुपमा चुनाव प्रचारप्रसारमा व्यस्त छन् ।

तर, चुनाव चिन्ह डोजर पाए पनि निर्वाचन आयोगले चुनाव चिन्ह डोजरको ठाउँमा रोड सम्याउने ‘रोलर’ दिएपछि मतदातासँग कसरी मत माग्ने उनी अलमल्ल छन् । ‘डोजर भनेर रोलर चुनाव चिन्ह दिने आयोगको यो गैरजिम्मेवारी हो कि होइन ?,’ उम्मेदवार शर्माको प्रश्न छ ।

शर्माले चुनाव चिन्ह सच्याई पाउ भनेर आयोगमा निवेदन पनि दिएका छन् । तर, चुनाव चिन्ह सच्चिएर भने आइपुगेको छैन । मूलधारसँग उनले भने, ‘निर्वाचन आयोगमा चुनाव चिन्ह सच्याई पाउ भनेर निवेदन दिएको छु तर, सच्चिएर आइपुगेको छैन । कहिले सच्याउनका लागि निर्वाचन अधिकृतको कार्यालय बिआइसीसी जानुस् भन्छ कहिले निर्वाचन कार्यालय पठाएर निर्वाचन शाखा जानुस् भन्छ । आयोगको काम खाली दुःख दिने काम मात्र भयो ।’

बल्लतल्ल निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेटेर चुनाव चिन्ह सच्याउनका लागि भनेपछि तोक भने लगाइएको उनले बताए । उनले भन, ‘अन्तिममा निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाकहाँ पुगियो, उहाँले बल्ल सच्याउनका लागि तोक लगाउनुभएको छ । तर, चुनाव चिन्ह सच्चिन्छ, सच्चिदैन केही थाहा छैन । अहिलेसम्म केही खबर आएको छैन ।’

 

 

 

  • October 13, 2022 प्रकाशित
  • सम्बन्धित