काठमाडौं । केही समयअघि विवेकशिल साझा पार्टी त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेशसँगै वरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले गोरखाबाट आगामी प्रतिनिधिसभा निर्वाचन जिते भने देशको कुरुप त्यहाँबाट प्रष्टिने बताएका छन् ।
मिश्रले एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष प्रचण्डलाई गोरखाली जनताले हराएर पठाउनुपर्ने बताउँदै यदि जितेर आए देशको कुरुप तस्वीर त्यहाँबाट प्रस्तुत हुने उनले बताए ।
उनले भनेका छन्, ‘गोरखामा सचेत मतदाता छन् भने प्रचण्डलाई यति नराम्रोसँग हराएर पठाउनुपर्छ त्यहाँबाट । गोरखाको गौरव, पृथ्वीनारायण शाहमात्र होइन त्यसबाहेक धेरै विषयमा गोरखाको गौरव छ । जस्ले पृथ्वीनारायण शाहको शालिक तोड्यो त्यो व्यक्तिलाई गोरखाकै मतदाताले जिताएर पठाए भने यो देशको बिडम्बना, देशको कुरुप तस्वीर त्यहाँबाट प्रस्तुत हुन्छ ।’
काठमाडौं क्षेत्र १ बाट थोरै मतले पराजित भएको भन्दै आफूले काठमाडौंमै पुनः निर्वाचन लडेको पनि बताएका छन् । राजनीति भनेको देशकै लागि केही गरौँ भन्ने हिसाबले आएको पनि उनले बताए । अबको ३० वर्ष पछिको नेपालको परिकल्पना गरेर राजनीति गर्नुपर्ने पनि उनको सुझाव छ ।
राप्रपामा प्रवेश गरेर राजावादी सिद्धान्त अंगालेका मिश्रले आफू पहिलो नेपालवादी रहेको र नेपालमा एउटा मियोको अभाव (अभिभावक) रहेकाले अहिलेको अवस्थाबाट पूर्ति हुन नसक्ने उनको ग्यारेन्टी छ । बहुदलको ३३ वर्षमा महेन्द्रले लोकतन्त्र निमोठे पनि अन्ततः प्रजातन्त्र ब्युँताउनु पर्ने जरुरी रहेको अन्तिम घडीमा भनेको पनि मिश्रले सम्झिए ।
मिश्रले अनेक विचार मन्थन गर्दा विचारभन्दा माथि देश र राजसंस्था चाहिने निष्कर्ष निकालेको बताएका छन् ।