स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह : कसैलाई ‘माछा’, कसैलाई ‘सिरिन्ज’, गंगाले पाइन् ‘लौरो’
  • मूलधार

काठमाडौं । २०७९ मंसिर ४ गतेको निर्वाचन खुबै रोचक हुने देखिएको छ । सम्पन्न स्थानीय तहको निर्वाचनपश्चान् देशभर स्वतन्त्र उम्मेदवार बन्नेहरुको जमात नै बन्यो । टेलिभिजन करियर छाडेका रवि लामिछानेको नेतृत्वमा स्वतन्त्र पार्टी नै जन्मियो । र, स्वतन्त्र उम्मेदवार बनेकाहरु अहिले चुनावी अभियानका लागि देश दौडाहामा छन् ।

रोचक चाहिँ के छ भने पार्टीबाट किनारामा पारिएका, चेपिएका, हेपिएकाहरु यसपालिको निर्वाचनमा स्वतन्त्र बनेर पार्टीलाइ सबक सिकाउन खोजिरहेका छन् भने कोहीँ चाहिँ पार्टीबाट नितान्त बाहिर रहेर जनताको सेवामा खटिन चाहेका छन् । तर, सबैको एकमुष्ठ नाम भने स्वतन्त्र उम्मेदवार नै छ । उनीहरुले पाउने चुनाव चिन्ह पनि निर्वाचन आयोगको पोल्टाबाटै आएको छ ।

स्वतन्त्र उम्मेदवार बन्नेहरुमा पार्टीबाट विद्रोह गरेर स्वतन्त्र बनेका एमाले नेता घनश्याम भुसालदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई डडेलधुरामा चुनौती सागर ढकालसम्म रहेका छन् । र, उनीहरुले बुधबार निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएका छन् । सबै स्वतन्त्र उम्मेदवारहरुलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनाव चिन्ह प्रदान गरिएको छ । चुनाव चिन्ह पाएसँगै स्वतन्त्र उम्मेदवारहरु अहिले आफ्नो चुनाव चिन्ह मतदातालाई रटाउन मैदानमा होमिएका छन् ।

स्वतन्त्र उम्मेदवार : कस्को चुनाव चिन्ह के ?

– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसेपछि विद्रोह गर्दै पार्टीबाट बाहिरिएर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले चुनाव चिह्न ‘त्रिभुज’ पाएका छन् । उनलाई पाँच दलीय गठबन्धनको दह्रो साथ छ । उनी रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

– पार्टीले नपत्याएपछि तनहुँ –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्न स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह प्राप्त गरेका छन् ।

– एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा लड्नका उम्मेदवारी दिएका युग पाठकले चुनाव चिन्ह ‘पुतली’ पाएका छन् ।

– पार्टीमा विद्रोह गर्दै चितवन–३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले ‘माछा’ चुनाव चिह्न पाएका छन् ।

– स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पराजित भएका जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । चितवन–३ बाट नै प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका पौडेलले चुनाव चिन्ह ‘सूर्यमुखी फूल’ पाएका छन् । मेयरमा लड्दा उनले ‘भुइँकटहर’ चुनाव चिन्ह पाएका थिए।

– चितवनबाट काठमाडौं हेर्ने हो भने काठमाडौंमा पनि स्वतन्त्र उम्मेदवारको लर्काे नै देखिन्छ । काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठले चुनाव चिन्ह ‘माछा’ नै पाएका छन् । श्रेष्ठ अहिले एउटा रियालीटि सोका कोच पनि हुन् ।

– घनश्याम भुसालजस्तै किनारामा पारिएकी एमालेकी गंगा चौधरी पनि स्वतन्त्र उम्मेदवार बनेकी छन् । उनी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लड्दै छिन् । उनलाई चुनाव चिन्ह ‘लौरो’ परेको छ । उनले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिएकी हुन् ।

– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवार बनेका यादवलाल कायस्थलाई चुनाव चिन्ह ‘पानीको जार’ परेको छ ।

– एमालेले टिकट दिए पनि एमालेमा आफूले भित्र्याएका कार्यकर्तालाई टिकट नदिएपछि विद्रो गरेका प्रभु साहले चुनाव चिह्न ‘ह्यान्ड पाइप’ अर्थात् (हातेकल) पाएका छन् । उनी रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

– कैलाली निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले चुनाव चिन्ह ‘माछा’ पाएका छन्।

– यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा चुनावमा चुनौती दिएका स्वतन्त्र उम्मेदवार ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ प्रदान गरेका छन् ।

 

 

  • October 12, 2022 प्रकाशित
  • सम्बन्धित