काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर उम्मेदवारी फिर्ता नलिएकाहरुलाई पार्टीको सदस्य नरहने गरी नेपाली कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बागी उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकलाई कांग्रेसको २०१७ विधानबमोजिम ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको उल्लेख छ ।
विधानमा भनिएको छ, ‘उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेको धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध रहेका छन् ।