काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्नै पार्टीका व्यक्तिहरुले आफ्नै गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन २० घन्टे अल्टिमेटमको समय दिएको छ ।
गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले मंगलबार संयुक्त विज्ञप्ति नै जारी गरेर गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन २० घण्टे अल्टिमेटम दिएका हुन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’