काठमाडौं । सांगीतिक प्रस्तुति दिन जापान गाएका र्यापर भिटेन उर्फ समिर घिसिङले स्टेजमै दर्शकसामु आफ्नो टाउँकोमाथि बोत्तल प्रहार गर्दै अब घर बिगार्ने मन नभएको बताएका छन् ।
आइतबार जापानको टोकियोमा आयोजित सांगीतिक कार्यक्रममा भिटेनले टाउँकोमा बोतल प्रहार गर्दै आफू जापान आउने मुडमा नभएको र अब आफ्नो घर नबिगार्ने उनले बताए ।
उनले भने, ‘खासमा जापान आउने मुड नै थिएन । यसरी हिँड्ने रहरै थिएन । अब म कहीँ जाँदिन । पर्सनल बस्न मन छ । यो गुड हो कि ब्याड केही भन्न सक्दिन । मैले आफ्नो पर्सनल लाइफ बाँच्न पाउँछु । म कसैको लागि फोर्सफुल्ली हिँड्न चाहँदिन । मैले फेरि यहाँ आउन फोर्स गरियो भन्न खोजेको होइन । मेरो घर बिगार्नु छैन । हिजो के भएको थियो मलाई मतलब छैन, भनिराख्न जरुरी पनि छैन । कसै, कसैको चित्त दुखे पनि दुखोस् । आइ डोन्ट केयर । मलाई केहीँ चाहिँदैन कसैको । ’
र्यापर भिटेनले किन र के कारण यस्तो भने भन्नेबारे केही खुलाउन चाहेनन् । उनले केवल अब आफ्नो पनि निजी जिवन रहेको बताउँदै अब निजी जीवन जिउने पनि भने ।
गीत गाउने क्रममा उनी गीत गाउने मुडमा नरहेको र प्रस्तुती स्थलबाट निस्कने खोजे । तर, त्यहाँ रहेका सुरक्षाकर्मीले उनलाई केही समय त रोके । यद्यपि, केही समयपछि भिटेन गाउन छाडेर स्टेजबाट बाहिरिए ।