काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति सुरुवात गरेकी अभिनेत्री करिश्मा मानन्धर सात महिनाअघि नेकपा एमाले प्रवेश गरेकी थिइन् ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मालाई पार्टीमा भित्र्याएका थिए । करिश्मासँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायतको जम्बो टोली एमालेमा प्रवेश गरेको थियो ।
पार्टी प्रवेश गर्दै गर्दा करिश्माले आफ्नो क्षमताअुनसार जिम्मेवारी दिइनुपर्ने र आफू त्यसबाट पछि नहट्ने बताएकी थिइन् । उनको मतलब यो थियो कि उनलाई एमालेले आगामी निर्वाचनमा उम्मेदवार बनाउनपर्छ ।
पार्टी प्रवेश गर्दैगर्दा करिश्माले आफू एमालेमा छिर्नुका ३ कारण सुनाएकी थिइन् । पहिलोः केपी शर्मा ओली र उनको ताजुब इनर्जी, दोस्रोः एमालेले देशको समृद्धि र परिवर्तन ‘ट्रु’ रियल एजेन्डा बोकेको र तेस्रोः मूल्यांकन गरेर पार्टीमा जिम्मेवारी दिएमा म पछि हट्दिन ।
करिश्माले एमालेमा प्रवेश गर्दै गर्दा आफूलाई जिम्मेवारी दिइनेमा कुनै बाधा हुने छैन भन्ने सोचेकी थिइन् । तर, अहिले उनको त्यो आशा निराशामा परिणत भइदियो । उनलाई एमालेले उम्मेदवार नै बनाइदिएन ।
त्यसपछि करिश्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो कुण्ठा पोखिन् । करिश्माले लेखेकी छन्– ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’
करिश्माको यो फेसबुक स्टाटसको अर्थ अब उनी एमालेबाट बाहिर निस्केर स्वतन्त्र बन्न चाहन्छिन् । घुमाउरो भाषामा करिश्माले एमाले छाड्ने भनेकी छन् ।
फेसबुकमा करिश्माले आफू विद्रोही स्वभावको नरहेको पनि भनेकी छन् । तर, आज आएर आफूले त्यो महसुस गरेकी पनि उल्लेख गरकी छन् । उनले लेखेकी छन्, ‘बिद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !!’
करिश्माले पार्टी प्रवेश गर्दैगर्दाको बोलेको बोली जस्ताको तस्तै :
कतिपयलाई लागेको होला उनी किन यहाँ ? मेरो नाम नै परिचय हो । कलाकारितमा झण्डै तीन दशक काम गरे । मेहनत, संघर्ष जे जति गरे मुलुककै लागि गरेको थिए । राम्रो पहिचान पनि पाए । अहिले पछाडि फर्केर हेर्दा गरेका दुःख, त्याग, परिश्रममात्रै सबै कुरा हो त ? त्योभन्दा अघि जाने कुनै पाइला छैनन् त ? अथवा गर्न सक्ने कुरा नै छैन त ? पछिल्लो समय यहीँ प्रश्न चिन्ह खडा भइरह्यो मेरो मनमा । तर, सदैव मलाई सबैबाट एउटै हौसला प्रदान भयो– तिमी रोकिनु हुन्न केही गर्नुपर्छ, समाजका लागि, महिलाका लागि । पछिल्लो समय मेरा क्रियाकलापहरु हेर्दा अचम्म पनि लाग्छ होला ८ कक्षाको झोला बोकेर म ब्याच्लर जोइन गरेकी छु ।
अन्ततः अब के गर्ने ? आजदेखि एमालेमा रहेर राजनीति अगाडि बढ्ने अठोट गरेकी छु । त्यसैले म यहाँ छु । मुलुकको समृद्धिका लागि काम गर्ने अठोट लिएर यो मञ्चमा खडा भएकी छु । हजुरहरुको मनमा धेरै प्रश्न आउन सक्छन्– नेकपा एमाले नै किन ? अघि बढ्न अन्य राजनीतिक दलहरु पनि छन् । तर, किन एमाले नै ? किन भनेर आफैलाई सोध्दा २, ३ वटा उत्तर पाए । पहिलोचाहीँ केपी शर्मा ओली । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन । नेता भनको जनताको पथप्रदर्शक हो । जनताको अगुवा र भविष्य सुनिश्चित गर्न हो, त्यो केपी ओलीज्यूमा पाउछु । सबैभन्दा बढी उहाँकाे इनर्जी देखेर ताजुब भएकी छु । पछिल्लो ६ महिनाको अन्तरालमा उहाँलाई मैले २ पटक भेटे । म उहाँको कुरा सुनेर म कहिल्यै थाक्दिन । अर्को पार्टीको मान्छेले पनि उहाँको गुणगान गाउँछन् ।
दोस्रो, पार्टीलाई हामीले हेर्दै आएको अवस्था हो । सबैले लोकतन्त्र र गणतन्त्रको अभ्यास गर्दै आइरहेको अवस्था हो । तर, एमालेले देशको समृद्धि र परिवर्तन ‘ट्रु’ रियल एजेन्डा बोकेको महशुस हुन्छ । एमालेले समानता र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादमा जाने अठोट लिएको छ । महिला, तल्लो वर्गलाई सजिलै माथि पुर्याउने एमालेलाई अहिले पनि देख्नुहुन्छ । तेस्रो, एमालेप्रति सबैले सद्भाव राख्छन् । शिक्षा, व्यवसायका मान्छेलाई सोध्दा उहाँहरुले एमाले भन्नुहुन्छ । बुढा, युवादेखि सबैको पार्टी एमाले नै हो ।
अन्तमा पार्टीमा वर्षौदेखि आफ्नो जीवन सुम्पिनुभएका अग्रहजहरु यो पार्टीमा हुनुहुन्छ । उहाँहरुलाई लाग्ला कि यो मान्छे किन यहाँ आएको ? नयाँ मान्छे नजोडि त पार्टी अघि बढ्दैन यो एउटा प्रक्रिया पनि हो । पार्टीमा आउनासाथ मलाई यो चाहियो, त्यो चाहियो भन्ने खालको साथीहरुलाई लागेको हो भने देशैभर आबद्ध हुनुभएका एमाले साथीहरुलाई भन्न चाहन्छु– यो कुनै सौदाबाजी पनि छैन, माग पनि छैन । नितान्त एउटा कार्यकर्ता भएर जोडिन आइपुगेकी छु । तर, एउटा कुराचाहीँ भन्न चाहन्छु यदि मेरो मूल्यांकन गरेर पार्टीमा जिम्मेवारी दिएमा म पछि हट्दिन है ।