प्रतिनिधिसभा निर्वाचन : शीर्ष नेता ‘सेफ जोन’ मा
  • मूलधार

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै राजनीतिक दलले उत्साहपूर्ण मनोनयन दर्ता गराएका छन् । सबै राजनीतिक दलका अध्यक्षले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट–१ मा उम्मेदवारी दिएका छन् ।

निर्वाचन तालिकाअनुसार मनोनयनमाथि दाबी विरोधको समय बाँकी नै छ । तर, प्रमुख दलका प्रमुखको उम्मेदवारी फेरबदल हुने सम्भावना छैन । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दुवै दुवै पक्षका शीर्ष नेताले भने आफू उम्मेदवार रहेको क्षेत्रलाई तुलनात्मक रुपमा सुरक्षित राखेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सधैँको क्षेत्र डडेलधुराबाट प्रतिस्पर्धा गर्दैछन् । देउवाले प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण मल्ल पाएका छन् ।

देउवालाई हराउन एमालेले डडेलधुरामा उम्मेदवारी नदिने निर्णय गरेको थियो । तर, अन्तिम अवस्थामा एमालेबाट उम्मेदवारी पर्यो । यस्तो अवस्थामा देउवालाई झनै सहज भएको छ ।

त्यसो त देउवाकै विरुद्ध भनेर डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ढकाल पनि देउवासामु धेरै कमजोर उम्मेदवार हुन् ।

डडेलधुरामा कांग्रेसको मत आजसम्म हलचल भएको देखिएको छैन । जनताले देउवालाई छैटौँ पटक इमानदारीपूर्वक जिताइसकेका छन् । यसपटक पनि देउवालाई जित्न असहज देखिन्न ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि मनोनयन दर्ता गराएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कमजोर प्रतिस्पर्धी पाएका छन् ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा झापा–५ कांग्रेसको भागमा परेको थियो । कांग्रेसले अन्तिम अवस्थामा खगेन्द्र पाण्डप अधिकारीलाई उम्मेदवार बनाएको छ ।

अधिकारी गठबन्धनको उम्मेदवार भए पनि खासै चिनिएका र सुनिएका उम्मेदवार होइनन् । हेबी वेट ओलीको तुलनामा अधिकारी धेरै कमजोर उम्मेदवार हुन् । त्यसै पनि झापा–५ एमालेका लागि राम्रो क्षेत्र हो ।

त्यसो त ०६४ सम्पन्न संविधानसभाको निर्वाचनमा ओलीलाई त्यस्तै नपत्याउँदो उम्मेदवारले हराएका थिए । ०६४ मा माओवादीका विश्वद्वीप लिङ्देनसँग ओली पराजित भएका हुन् । तर, यसपटक त्यस्तो वातावरण छैन । एमालेले राप्रपा र जसपाको साथ पाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । गोरखालाई माओवादीको आधारथलो समेत भन्ने गरिएको छ ।

गोरखा माओवादीको आधारथलो भन्ने विभिन्न चरणमा पुष्टि हुँदै आएको छ । जुन क्षेत्रबाट पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जित्दै आएका थिए । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि माओवादीले राम्रै जितेको जिल्ला हो ।

चितवनबाट निर्वाचन लड्ने तयारीमा रहेका प्रचण्डलाई बाबुराम र नारायणकाजीकै प्रस्ताव र जोडमा गोरखा पुर्याइएको हो । त्यसैका आधारमा पनि प्रचण्डलाई जित्न सहज देखिन्छ ।

गोरखा–२ मा गठबन्धनका उम्मेदवार प्रचण्डका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नै हुन् । एमालेले कमजोर उम्मेदवार उठाएको छ । गोरखा–२ मा अब्दुस मियाँ एमालेका उम्मेदवार हुन् । २८ वर्षीय मियाँ खासै चिनिएका र सुनिएका उम्मेदवार होइनन् ।

माधवका अगाडि कमजोर अजय
नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावकुमार नेपालले यसपटक रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचन काठमाडौं–२ बाट जितेका माधवले यसपटक रौतहट राजेका हुन् । स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौटहटमा राम्रै नतिजा ल्याएको थियो ।

नेकपा माओवादीको समेत राम्रो प्रभाव रहेको यस क्षेत्रमा माधव सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । त्यसकारण पनि माधवलाई सहज देखिन्छ ।

माधवका मुख्य प्रतिस्पर्धी अजय गुप्ता हुन् । भर्खरै लोसपा परित्याग गरेर एमाले प्रवेश गरेका गुप्तालाई एमालेले टिकट दिएको हो । भर्खरै आएकालाई टिकट दिएका कारण एमालेभित्र ब्यापक असन्तुष्टि छ ।

 

  • October 10, 2022 प्रकाशित
  • सम्बन्धित