काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ । लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको हो ।
लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् ।