भोजपुरमा तेस्रो पटक भिड्दै सुदन र शेरधन
  • मूलधार

भोजपुर । आगामी मंसिर चार गतेको प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता सुदन किराती र नेकपा एमालेका नेता तथा पूर्वमुख्यमन्त्री शेरधन राईले टिकट पाएसँगै रोचक प्रतिस्पर्धा हुने भएको हो ।

यो सुदन र शेरधानको तेस्रो भिडन्त हो । यसअघि यी दुई नेताबीच दुई पटक प्रतिस्पर्धा भइसकेको छ । शेरधन र सुदनले आपसमा हार र जीत एक एक पटक व्यहोरेका छन् ।

०४६ सालदेखि ०५६ सालसम्म जिल्लाका दुवै क्षेत्रमा लगातार विजयी हुँदै आएको नेकपा एमालेलाई ०६४ सालको पहिलो संविधासनभाको निर्वाचनमा नेकपा माओवादीले धक्का दिएको थियो । त्यसबेला एमालेका उम्मेदवार शेरधानलाई हराउँदै सुदन क्षेत्र नम्बर दुईबाट विजयी भएका थिए ।

०७० को निर्वाचनमा एमालेले माओवादीसँग बदला लियो । अघिल्लो निर्वाचनमा आफूलाई हराउने सुदनलाई नै पराजित गर्दै शेरधन विजयी भएका थिए । ०७४ को निर्वाचनमा भने भोजपुरबाट बाम गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका थिए ।

प्रतिनिधिसभामा माओवादीका सुदन र प्रदेशतर्फ नेकपा एमालेका शेरधन र राजेन्द्र राई विजयी भएका थिए । शेरधन र राजेन्द्र दुवै जान प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् । ०७४ को निर्वाचनमा एउटै मोर्चामा रहेका यी तीन नेता अहिले तीनतिर छन् ।

भोजपुरमा २०४८ साल यताको निर्वाचनमा निरन्तर वामपन्थीहरुले जित्दै आएका छन् । हारमा ह्याट्रिक गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने ०७४ मा प्रतिनिधिसभा निर्वाचन लड्न पहाडबाट तराई झरेका थिए । कांग्रेसले ०४८ पछिका कुनै पनि संसदीय निर्वाचन नजितेपछि कार्की सहज जितको खोजी गर्दै सुनसरी झरेका थिए ।

०५१, ०५६ र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कार्की भोजपुर-१ बाट पराजित भएका थिए । ०७० को दोस्रो संविधानसभामा भने कार्की समानुपातिकतर्फ बसेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-४ मा झरे र वाम गठबन्धनका उम्मेदवारलाई हराउँदै उनी विजयी भएका थिए ।

पहिलो संसदीय निर्वाचनमा तीनवटै सिट जितेको कांग्रेसले भोजपुरमा विगत ६४ वर्षदेखि जित्न सकेको छैन । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो आम निर्वाचन ०४८ मा भोजपुरका तीनै वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । त्यसयता भोजपुरमा कांग्रेसले जितेको छैन ।

याे पटक सत्ता गठबन्धमा भोजपुर माओवादीको भागमा परेसँगै ६९ वर्षसम्म भोजपुरले कांग्रेसको नेतृत्व नपाउने निश्चित भएको छ ।

 

  • October 9, 2022 प्रकाशित
  • सम्बन्धित