काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभामुख अग्नी सापकोटा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
सापकोटाले भनेका छन्, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’
उनले आगामी निर्वाचनमा युवाहरुलाई मौका दिने पनि बताएका छन् । ‘मंसिर ४ को चुनाव म लड्दिन युवाहरुलाई अघि बढाउन मैले सहयोग गर्छु,’ उनले सम्मेलनमा भने ।
२०६४ र २०७० को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित भएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद बनेका थिए ।