काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेले बिहीबार राति काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लगाएको बताइएको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ बाहेक सबै क्षेत्रमा एमालेले आफ्नो उम्मेदवारीको नाम टुंगोमा पुर्याएको छ । क्षेत्र नम्बर ७ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पाएको छ । जसपाबाट यस क्षेत्रमा राजेन्द्र श्रेष्ठ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । राप्रपालाई भने प्रदेशसभाको सिट दिइएको छ ।
कुन क्षेत्रमा को उम्मेदवार ?
काठमाडौैं क्षेत्र नम्बर १ मा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाइएको छ । यस क्षेत्रको प्रदेशसभातर्फ गणेश दुलाल र आत्मराम शर्मा उम्मेदवार बनेका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ तर्फ मणिराम फुँयाल उम्मेदवार बनेका छन् भने यस क्षेत्रको प्रदेशसभातर्फ सानु श्रेष्ठ र अर्काेमा राप्रपाले उम्मेदवार पाएको छ ।
काठमाडौं क्षेत्र नम्बर ३ तर्फ कृष्ण राईले टिकट पाएका छन् । उनी निवर्तमान सांसदसमेत हुन् । प्रदेशसभातर्फ रामेश्वर फुयाँल र चन्द्रमान लामाले टिकट पाएका छन् ।
काठमाडौं क्षेन नम्बर ४ तर्फ राजन भट्टराई उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा पनि उनी नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग यस क्षेबाट पराजित भएका थिए । फेरि उनी यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ तेज ढकाल र अर्काे प्रदेशसभाको टिकट देवराम थापा र विदुर खड्कामध्ये
कस्लाई दिने टुंगो हुन बाँकी छ ।
काठमाडौं क्षेत्र नम्बर ५ तर्फ ईश्वर पोखरेल सर्वसम्मतिमा उम्मेदवार बनेका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ दिपक निरौला र नारायण सिलवाल उम्मदेवार बनेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ६ मा केही समयअघि एमाले प्रवेश गरेका पूर्वप्रहरी महानिरीक्षक (पूर्वआइजीपी) सर्वेन्द्रनाथ खनाल उम्मेदवार बनेका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ अमन शाक्य र निरेशलाल सिं उम्मेदवार बनेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ८ मा अष्टलक्ष्मी शाक्यले टिकट पाएकी छने । अब, चुनाव नलड्ने बाचा गरेकी शाक्यलाई पुनः उम्मेदवार बनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर ९ तर्फ कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बन्ने पक्का भएको छ । यस क्षेत्रको प्रदेशसभातर्फ केशव पोखरेल र हरिकृष्ण डंगोल उम्मेदवार बनेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १० मा भने माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । यस क्षेत्रमा उनको नाम दर्ज भए पनि यसबारे टुंगो लागेको छैन । यस क्षेत्रको प्रदेशसभातर्फ शिवभक्ति बलामी र रामशरण बलामी उम्मेदवार बनेका छन् ।