काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मृत्युलाई नजिकबाट नियालेको अनुभव सुनाएका छन् । ओलीले एक पोडकास्टसँगको कुराकानीमा आफूले मृत्युलाई नजिकबाट नियालेको र पटक पटक मरेर बाँचेको अनुभव सुनाएका छन् ।
प्रस्तोताले मृत्युलाई ‘कति नजिकबाट देख्नुभएको छ’ भनेर सोध्दा ओलीले आफ्नै कानको जालीबाट गोली सुइँक सुइँक गर्दै गएको तर, आफू बचेको सुनाएका छन् । उनले भनेका छन्, ‘मैले मेरो कानबाट सुइँक सुइँक गर्दै गोली गएको सुनेको छु । सानो आगाको झिल्का झिलिक, झिलिक गरेको पनि देखेको छु । मलाई मार्न लादै गरेको आफ्नै गाडीमा मारिसकेपछि गाड्ने कोदालो पनि त्यहिँ गाडीमा र गाडीमा मार्न लगेको पनि देखेको छु ।’
तर कारणवश आफू बचेको पनि उनले सुनाएका छन् । उनले आफू ५ हजार मिटरमाथिबाट हेलिकप्टरबाट खसेर बचेको अनुभव पनि सुनाएका छन् । यस्तै, मोटरसाइकल दुर्घटना, खोला तर्न खोज्दा बगेर पनि बचेको अनुभव उनले सुनाएका छन् ।
‘म हेलिकप्टरबाट पाँच हजार मिटरमाथिबाट खसे, हेलिकप्टर दुर्घटना भयो । त्यो खस्दै गरेको क्षण पनि अनुभव गरेको छु । म चढेको गाडी पल्टिएर तल्लो कान्ला झरेको अनुभव पनि गरेको छु । अझैँ त्योभन्दा धेरै कान्ला झरेको भए बाँच्दैन थिएँ होला,’ उनले भनेका छन्, ‘मोटरसाइकलबाट २, ४ पटक खसेको छु । खोला तर्न खोज्दा लगभग १५, २० किलोमिटर बगेरमात्र पार गर्न सकेको छु ।’