काठमाडौँ । नेकपा एमालेकी निवर्तमान सांसद एवं नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।
शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्। उनले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’
चौधरी एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी थिइन्। सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।
पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन्।