सन्दीपले प्रहरीलाई हातमा हतकडी नलगाउन भने, तर प्रहरीले मानेन
  • मूलधार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । बिहीबार विदेशबाट स्वदेश फर्केका उनलाई विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

कतार एयरवेजको विमानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सन्दीपले पूर्व जानकारी दिएका थिए । खराब मौसमका कारण केही ढिला गरेर स्वदेश आइपुगका सन्दीपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

करिब एक महिनादेखि देशबाहिरै रहेका सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिकाले जबरजस्ती करणीको मुद्दा जाहेर गरेकी थिएन। जाहेरीपछि जिल्ला अदालत काठमाडौंले पनि सन्दीपलाई पक्राउ गर्न पूर्जी काटेको थियो । तर, सन्दीप खेलका लागि बाहिर थिए ।

आफू चाँडै नेपाल आउने भन्दै आएका सन्दीप करिब एक महिनापछि नेपाल फर्किएका छन् । विमानस्थलमा सन्दीप कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा देखिएका छन् । सन्दीपलाई पक्राउ गर्नेबित्तिकै प्रहरीले हत्कडी लगाएको छ । हतकडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको छ ।

सन्दीपले आफूले आत्मसमर्पण गरेकाले हातमा हतकडी नलगाइदिन भनेर आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन पनि प्रहरीसमक्ष माग गरेका थिए । तर, प्रहरीले कानुनबमोजिम हतकडी र वकिल झिकाउन नमिल्ने बताएको थियो ।

विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई प्रहरीले भ्यानमा राखेर प्रहरी वृत्त गौशाला लगेको छ । उनलाई अब गौशाला प्रहरीमै राखेर अनुसन्धान अघि बढाइने जनाइएको छ । विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो ।

वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा सन्दीपले आत्मसमर्पण गर्ने भनेका थिए । र, घिमिरे प्रहरी वृत्त, गौशाला पनि गए तर उनी त्यहाँ नपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको थियो ।पछि प्रहरीले सन्दीपलाई गौशाला लिएर आयो र घिमिरेले सन्दीपलाई भेट्न खोजे पनि निवेदन नदिई भेट्न नमिल्ने भन्दै प्रहरीले भेट गर्न दिएन ।

तस्वीर : नान

  • October 6, 2022 प्रकाशित
  • सम्बन्धित