दशैँमा रुँदै विदेशिनुपर्ने अवस्था किन ?
  • हर्क साम्पाङ

दशैँमा रुँदै विदेशिनुपर्ने किन ? विदेशमा भएकाहरुले पनि विदेशमै बस्ने नियति किन बत्यो ? नेपालजस्तो उर्वर भूमिमा जन्मिएर यस्तो किन भयो त ? सरदरमा हेर्दा हामीले भोट हाल्न र नेतृत्व चुन्न नै जानेनौँ । काम गर्ने संस्कारको सुरुवात गर्न सकेनौँ । त्यसो भएको हुनाले काम गर्नुपर्छ । पहिले त राजनैतिक नेतृवत्वबाट कामको थालनी गर्नुपर्छ । यदि यसो गर्न सकिएन भने गरीब हुँदै जान्छौँ ।

यो ढुंगामा लेखे पनि हुन्छ । बन्दूकको क्रान्ति भयो, देख्यौँ तर, औँजारको क्रान्ति भएको देखेनौँ । म त्यस्तो ठूलो पदमा त छैन, नगरप्रमुखकै हैसियतबाट यो सुरुवात गरेको छु । र, हामी सबै फोहोरी राजनीतिमा नलागी सुरुवात गरे देश विकास र समृद्धि हुन्छ ।

आज हामीसँग जागिर छैन । गरिब छौँ । अनेक समस्या झेलिरहेका छौँ । भ्रष्टाचार, घुसखोरी र अनावश्यक गतिविध भइरहेका हुन्छन् । र, यसलाई रोक्न हामी नै जुट्नुपर्छ । हामी गाउँ गएका होला, बाटो बनेका छैनन् होला तर देख्दा देख्दै अरु (कर्मचार, ठेकदार) ले गर्लान् भन्ने गरेकोले देश विग्रेको छ । आगामी दिनमा हामी सबै मिलेर श्रम गर्नुपर्छ ।

पाखा पखेरामा फलफूल लगाऔँ, बाजो जमिन नबनाऔँ । दशैँको बेला रुँदै रुँदै घर जानुपर्ने दृश्यले मर्माहित भए । यस्तो चाँडबाँडको बेलामा आफन्त, घरलाई छाडेर विदेशिनुपर्ने बाध्यता किन भयो त ? देशमा श्रम गर्ने, पसिना बगाउने, उर्वर भूमिलाई सिञ्चित गर्दै औधोगिकरणमा नलगिएको कारण यस्तो भएको हो ।

भात खानुपर्यो, गाडी चढ्नपर्यो, आधुनिक शिक्षा लिनुपर्यो तर, नेपालमा यी सबै नभएकाले विदेशिनुपर्यो । त्यसैले अब तपाई हामी सबै मिलेर एउटा क्रान्ति गर्नुपर्छ । मेरो सानो क्षेत्र धरान छ, यहिँबाटै मैले पनि श्रम क्रान्ति सुरु गरेको छु । म त भन्छु– राष्ट्रिय नीति नै यस्तो आओस् कि श्रम अनिवार्य, स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी र सेवासुविधा सरकारले दिने ।

हुन त म सानो मान्छे । धरान उपमहानगरभित्र सीमित छु । तर, राष्ट्रिय राजनीतिमा लागेका माथिल्ला मान्छेहरुले यो खालको नीति अख्तियारी नगरुन्जेल देश बन्नेवाला छैन । हतियारको होइन औँजारको क्रान्ति गर्नुपर्छ । कलम र विचारमात्र पोखेर पनि हुँदैन । अब औँजारको क्रान्ति नगरेसम्म देशमा क्रान्ति हुँदैन । पाखा, भित्ता, बारीतिर उत्पादन गर्नुपर्छ । धरानमा निर्वाचित भएर आउँदासम्ममा लगभग ६ लाख विरुवा रोपेका छौँ । पाखा, भित्ताभरी रोपेका छौँ र संरक्षण गर्न नै हम्मे हम्मे परेको छ । आउँदा सालमा पनि झन् अत्यन्तै वृक्षारोपण र फलफूल उत्पादन गरेर अघि बढ्नेछौँ ।

धरानजस्तो आवासीय ठाउँमा त हामीले यस्तो प्रयोग गर्न सक्छौँ भने ग्रामिण कृषि जहाँ यस्लाई प्रधानता दिन सकियो भने पक्कै पनि हामी समृद्ध बन्न सक्छाँै, कसैले पनि हेप्न सक्दैन । पैसा आफैले कमाउन सकेपछि कसैले पनि हेप्दैन । होइन भने मागेर, ढाटेर खानुपर्छ । विदेशी बैंकबाट मागेर चल्नुपर्यो भने पक्कै पनि फेल खान्छौँ ।

अब त हाम्रो दिन बिस्तारै बिस्तारै अस्ताउने दिन आइसक्यो भन्दा पनि हुन्छ तर, हाम्रा नानी (छोरा, नातीनातिनीहरु, पनाती पनातीहरु) चाहिँ कसरी बाँच्ने होला ? यो गम्भीर छ । यो दशैँको दिन पनि मैले श्रमको कुरा गरे । दशैँको मुखमा पनि विदेशीनु पर्ने पीडा सहन नसकेर त्यहाँ जोडिइरहेको छु ।

अब, पार्टी होइन सक्षम व्यक्ति हेरेर भोट हाल्ने हो । त्यसले काम गर्छ । र, दुरुत्तर प्रगतिसँगै देशको सुशासन र विकासमा भूमिका खेल्न सक्छ । सबैको दशैँ सुखमय रहोस्, कतै झैझगडा नहोस्, विगतमा घटेका अप्रिय घटनाहरु नघटून् यहिँ कामना गर्न चाहन्छु । हामी सबै मिलेर श्रम गर्नुपर्छ ।

आराम गरे अभाव हुन्छ, श्रम गरे समृद्धि मिल्छ । हामी अवश्य श्रममा जुट्नेछौँ । समृद्धितर्फ लम्कनेछौँ ।

  • October 5, 2022 प्रकाशित
  • सम्बन्धित