काठमाडौं । विल्सन विक्रम राई उर्फ तक्मे बूढालाई नचिन्ने सायदै होलान् । हास्य टेलिशृंखला ‘मेरी बास्सै’बाट दर्शकमाझ अत्यधिक रुचाइएका विल्सनले थुप्रै नेपाली चलचित्र खेलिसकेका छन् । अहिले उनी आफैले लेखन तथा निर्देशन गरेको हास्य टेलिशृंखला ‘फुर्के नं १’ सँगै अन्य कार्यक्रममा व्यस्त छन् जुन दर्शकमाझ औँधी लोकप्रिय छ । उक्त टेलिशृंखला झापामा छायाँकन हुने गर्दछ ।
विल्सनको बाल्यकाल झापामै बित्यो । अहिले पनि समय मिल्नेबित्तिकै झापा नै जान्छन् । बिर्तामोडमा घर रहेका विल्सन अहिले सुपर डान्सर नेपालका उद्घोषकसमेत हुन् । चलचित्रमा तत्काल नदेखिएका विल्सन आफ्नै काममा व्यस्त छन् । आमा सानै छँदा बितिन् । अहिले पनि विल्सनलाई आमाको साडीको गन्ध आउँछ । उनले आमाको साडी जतनका साथ राखेका छन् भने आमाको पूरानो पर्स पनि उनले राखेका छन् । जहाँ उनले पहिलोपटक आफूले कमाएको रकम राखेका थिए । धर्तीमा आमा नरहे पनि त्यतिबेला उनलाई आमाले छोराको पैसा राखेजस्तो भान भएको थियो । यो क्षण सम्झेर विल्सन आँखाभरी आँसु पार्छन् ।
‘मसँग आमाको फोटो छ । तर, त्यो फोटोले भन्दा बढी मेरो आमाको साडीले सुगन्ध दिन्छ । बितेको २५ वर्ष भयो अझैैँ आमाको त्यो काखको सुगन्ध छ । आमाको पूरानो पर्स छ,’ विल्सन आँखाभरी आँसु पार्दै विश्व लिम्बूसँगको नेपाल पोडकास्टमा भन्छन्, ‘मैले पहिलोपटक पैसा कमाएर जाँदा त्यो पर्समा पैसा राख्दा आमालाई नै राख्न दिएजस्तो लाग्यो । मेरो नागरिकता जहिले पनि त्यहिँ हुन्छ । लाग्छ कि मेरो आमाले राख्दिनुभएको छ ।’
परिवारको जेठो छोरो भएकाले जिम्मेवारी गह्रौ थियो । बालापन कस्तो हुन्छ ? साना साना दुईटा बहिनीहरु भएकाले विल्सनले बालापन महसुस गर्नै पाएनन् । विल्सन भन्छन्, ‘बालापन कतिखेर छछल्किएर आयो भने– जतिबेला म अलिकति पब्लिकमाझ चिनिन थालेको थिएँ । त्यतिबेला राम्रोसँग बोल्न जानिन होला । तर, परिपक्वताचाहिँ योभन्दा अघि आएको थियो । अहिले मेरो छोरा, छोरीसँग खेल्दा त्यो बालापना खुब मिस गर्छु । खुब रमाइलो गर्छु ।’