‘अब यायोक्खामा राजनीतिको जुत्ता बाहिरै फु्कालेर भित्र पस्ने’
  • मूलधार

किरात समुदायको साझा थलो (सस्था) हो– किरात राई यायोक्खा । त्यहिँ साझा थलोमा असार १० गते भक्तपुरको बोडेमा सम्पन्न भएको यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा जीवन हाताचो राई सर्वसम्मतीले चुनिएर आएका छन् । अब उनले यायोक्खालाई कुन उचाइमा पुर्याउँछन् ? राजनीतिक भर्तिकेन्द बनाइयो भनिएको यायोक्खालाई कुन दिशामा अघि बढाउलान् ? त्यो हेर्न बाँकी नै छ ।

बोडेको बन्द सत्रबाट क्षमता, योगदान र दक्षताका आधारमा सर्वसम्मतीले उनी अध्यक्ष बने । र, यायोक्खा हाँक्ने साँचो उनले पाएका छन् । यसअघि उनले यायोक्खाको दुई कार्यकाल केन्द्रिय सदस्य, एक/एक कार्यकाल उपमहासचिव, महासचिव र उपाध्यक्ष सम्हालिसकेका छन् ।

११ औँ महाधिवेशनबाट यायोक्खा हाँक्ने जिम्मेवारी पाएका उनैसँग मूलधारकर्मी लोकराज रुम्दालीले राईको स्वास्थ्यप्रतिकूल समयसामयिक विषयमा छोटो कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश :

सर्वप्रथम त जिम्मेवारी पदमा चयन हुनुभएकोमा बधाई

धन्यवाद ।

कुराकानीतिर अघि बढौँ । यायोक्खा पार्टी भर्तिकेन्द्रजस्तै भयो भन्दै भनिँदै आएको छ । अब त तपाई पनि यो प्रश्नबाट अछुतो रहनुभएन । आफूलाई कसरी चिनाउनुहुन्छ ?

यायोक्खाको नीति नै छ जुनसुकै दलसँग आबद्ध रहे पनि यायोक्खाभित्र राजनीतिक गन्ध नल्याउने । अब कुनै पनि राजनीतिको जुत्ता यायोक्खाको प्रांगणबाहिर राखेर छिर्ने र आफ्नो आन्दोलन र यात्राबारे एक ढिक्का भई अघि बढ्ने हो । जुन जुन दलबाट यायोक्खामा आए पनि आफ्नो पहिचानका निम्ति गन्थन गर्ने, बहस गर्ने हो राजनीतिको गन्ध ल्याउने काम अब हुँदैन । यद्यपि, अहिलेसम्म मैले म आफू यो पार्टीको हो भनेर भनेको पनि छैन र कसैलाई ‘बायस’ पनि गरेको छैन, गर्दिन र गर्नै हुन्न त्यो कसैले । र, यायोक्खा सम्हालेपछिको पहिलो बैठकमै राजनीतिक रंगको बारेमा कडा निर्देशन दिनेछु ।

राजनीतिक रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष यायोक्खा गतिशील नभएको जस्तो त तपाईले संकेत देखाउनु भयो । यायोक्खा राजनीतिक कारण कि क्षमता नै नभएर राम्ररी बामे सर्न नसकेको हो ?

यायोक्खामा त्यस्तो खालको राजनीतिकरण त होइन । तर, कुनै दलसँग प्रत्यक्ष, अप्रत्यक्ष आबद्ध भएको हुनाले पनि यस्तो देखिएको हो । यस विषयमा दुई मत पनि देखिएको छ– दलसँग आबद्ध हुन सक्ने र नसक्ने । तर, अहिलेको पछिल्लो मुद्धा ‘किरात प्रदेश’ राजनीतिक मुद्धा नै रहेको छ । र, यस्लाई राजनीतिक तवरले नै समाधान गर्ने भन्ने छ । त्यसैले सार यति नै हो कि– यायोक्खाले उठाएको साझा मुद्धा कसैले राजनीति नगर्ने, राजनीतिक दबाब पो दिने हो ।

यायोक्खाभित्र अब राजनीतिक गन्ध आउदैन भनेर ठोकुवा गर्नुहुन्छ ?

एउटै घरभित्र त कोही कुन पक्ष, कोही कुन पक्ष हुन्छ । त्यो त पूरै गर्न सकिने अवस्था छैन । तर, यायोक्खाभित्र छिरेर मेरो पार्टी यो त्यसैले त्यो गर भन्ने हुँदैन । अहिलको हाम्रो फोकस भनेको प्रदेश नम्बर १ नामाकरण विषय हो । कसरी आफ्नो पहिचान र परिचय बचाउने नै अहिलेको हाम्रो मुख्य मुद्धा हो । आफ्नो जाति वा पहिचान केही गरि फेर्न सकिँदैन तर सिद्धान्त र पार्टी कुनै बेला पनि फेर्न सकिन्छ । त्यसैले आफ्नै समुदाय, जाति, पहिचानमा कटिबद्ध भइ लागि पर्नु हाम्रो जिम्मेवारी हो ।

उपमहासचिव हुँदै अध्यक्ष बन्दै गर्दा समग्रमा यायोक्खा कसरी चलेको देख्नुभएको छ ?

यायोक्खाको नीति चाहिँ निर्वाचन होइन सहमतिमै गर्ने नीति छ । निर्वाचन गर्दा पार्टीगत गन्ध पनि आउने, अर्काे ठूलो समुदाय र सानो समुदायबीच नै ध्रुवीकरण हुने भन्ने देखिएपछि सहमतिमै निर्वाचन हुने गरेको छ । त्यसैले पनि यसलाई सबैको साझा र गर्विलो संस्था बनाउने भन्ने नै हो । नबुझ्ने केहीले राजनीतिक ‘स्पेस’ बनाउन र बार्गेनिङ गर्न सकिन्छ भन्ने केही केहीको उपस्थित देखिएकै हो । तर, मूल जिम्मेवारी लिनेलाई यो प्रष्ट छ कि– राजनीतिको जुत्ता बाहिरै फु्कालेर भित्र पस्ने अनि किरात समुदायको उत्थान गर्ने ।

तपाईको ऊर्जा र अनुभवले समग्र किरात समुदायले पहिले र अहिलेको यायोक्खाबीच कस्तो रुपान्तरण र परिवर्तन भएको देख्न पाउनेछ ?

कुनै पनि व्यक्तिले चामत्कारिक काम गर्न सक्दैन । ऊ दैवी शक्ति पनि होइन । तर, एउटा नेतृत्वकर्तासँग भिजन र क्षमता भने हुन्छ । मसँग यायोक्खालाई अघि बढाउने मुद्धा छ । जस्तैः किरात प्रदेशको नामाकरण, लिपी, मातृभाषामा पठनपाठन, मुन्दुमको अध्ययन अनुसन्धान गर्नेलगायत थुप्रै मुख्य मुद्धा र योजनाहरु छन् । यिनै प्राप्तिका लागि हामीले साझा घोषणापत्र पनि बनाएका छौँ ।

यस्तै, यायोक्खाभित्र पनि कुनै समूहबीच आफूलाई ठूलो ठानेर लाग्ने समूह पनि रहेको देखिएको छ । उहाँहरुको आरोप छ– चाम्लिङ र बान्तवाको हालीमुहाली छ अरु साना समुदायको केही पनि सीप लाग्दैन । तर, म यो विषयमा विस्तारै बुझ्दै जानेछु । यदि यस्तो खालको विकृति रहेछ भने यो विकृति फैलाउने दबदबाको अन्त्य गरेर सबै एकै हौ भन्ने थिति बसाल्नु नै छ । अर्काे को राई हो र होइन भन्ने द्विविधा चिर्नेछु ।

यायोक्खाभित्र पनि कुनै समुदायको समूहको स्वार्थ देखिएकाले यायोक्खा अघि बढ्न नसकेको संकेत दिन खोज्नुभएको हो ?

त्यस्तो भन्दा पनि यो जस्ले आफूलाई राई होइन हामी चाम्लिङ, नाछिरिङ, कुलुङलगायत भन्नेहरुका लागि हो । यायोक्खाको मूल नीति यो होइन । कुन समूह ठूलो र सानो भन्ने होइन । यस्ता भ्रम र आरोप चिरेर सबैको पहिचान चिनाएर सामूहिक भावना पनि देखाउने हो ।

प्रसंग बदलौँ, किरात जात होइन सभ्यता हो भन्दाभन्दै प्रदेश नामाकरणको सन्दर्भमा यायोक्खाले पनि सरकार र दललाई बुझाउन नसकेको हो कि यस विषयमा बुझेर पनि माथिबाट पेलिइएको हो ?

पहिचान विरोधीहरुले कोसी र सगरमाथा ल्याउन खोजिरहेका छन् । उनीहरुको भनाइ छ– नामले केही हुँदैन । तर, किरात सभ्यता त मानव विकाससँग जोडिएको कुरा छ । यो आदिवासी सबैको साझा सभ्यता पनि हो । यलम्बरदेखि गस्तीसम्मले शासन गरेको यो प्रदेशको नामाकरण पहिचानको नाउँमा गर्न नसक्नु राज्यको कति संकीर्ण विचार हो । इतिहास मेटेर आफ्नो एकाधिकार जमाउन खोज्नु कतिसम्म अपराध गर्न खोजिदै छ ? ‘किरात’विनाको नामाकरण गरिए बरु सय वर्ष लागोस्, छिटछिटो प्रदेशको नाम राख्ने हतारमा ‘किरात’ शब्द आएन भने त्यो मान्ने हुने छनै । कुनै पनि हालतमा ‘किरात’ शब्द छुट्न भएन । धर्मको महलको हकमा त के राख्ने भन्ने विषयमा नामैलाई बहुअर्थ राख्न किरात राखिएको हो । त्यसैले किरात जाति होइन सभ्यता हो ।

अहिले प्रदेश १ नामाकरण सन्दर्भमा लिम्बूवान, ताम्सालिङ, मगरातलगायत समुदायले आफ्नो पहिचानसहितको नामाकरण हुनुपर्ने अडान राखिरहेका छन् । यस्तो कचिंगल सिर्जना भएको अवस्थामा प्रदेश १ ‘किरात’ नै झुण्डिएको प्रदेश हुनुपर्छ भनेर कसरी दाबी गर्ने ?

किरात प्रदेश हुनुपर्छ भनिएको प्रदेशमा किरातीहरुले उहिले खोरीया फाँडेर समाज बनाएको, खुवालुङको कथा समाउने हो भने त्यसपछि को के बने भन्ने छ । तर, जो जता गए पनि सबैको उद्गम बिन्दू त यहिँ किरात सभ्यता हो । उनीहरुले आफ्नो भाषा, संस्कार, संस्कृतिको उहिलेखि आजसम्म पनि संरक्षण नै गरिरहेका छन् । त्यसो त १२३ भाषा भनिएको नेपालमा किरातको भाषामात्र २६ रहेको छ । यस्तो अवस्थामा प्रदेशको नाममा ‘किरात’ झुण्ड्याउन किन समस्या । किरात समुदाय बसोबास गर्ने यो प्रदेश राणाकालमा पनि नमेटिएको अहिलेको संघीयता मान्नेहरुले किन नामाकरण गर्न आनाकानी गरिरहेका छन् ? यो त बुझाइको कमी हो । किरातपछि न आउने हो लिम्बूवान । फेरि ताम्सालिङ, नेवाचाहिँ पहिचान छैन भन्न खोजिएको होइन, उनीहरुको पनि आफ्नै पहिचान छ । तर, समग्रता हेर्ने न हो ।

कुनै तत्वले आपस–आपसमै झगडा गराइरहेका छ भन्न खोज्नुभएको हो ?

किरात विरोधी तत्व जस्ले किरातको भाषा, संस्कृति अन्त्य गराउने उद्धेश्यले झगडा सिर्जना गराएको पनि देखिन्छ । तर, कतिन्जेलसम्म यो प्रथाले काम गर्छ ? विगतमा अरुलाई जुधाएर शासन गर्ने तानाशाहीहरुले आफैँ आत्महत्या गरेको इतिहास त छर्लंगै छ । हामीले त सबैलाई सम्मान गरेका छौँ । र, अहिलको हाम्रो माग हो– जबर्जस्त हिन्दूकरण नलादियोस् ।

प्रदेश नामाकरणको सन्दर्भमा सरकार र दल दुईतिर बाँडिनुको कारणचाहिँ के देख्नुहुन्छ ?

राजनीतिक दलहरु इमान्दार नभएर हो । नेकपा एमालेका अध्यक्ष पहिचान मास्न खोज्ने, नेपाली कांग्रेसका सभापति देउवा ढुलमुले र सत्ता भए भइहाल्ने, माओवादी त उहिँ नै भइगयो । तैपनि हाम्रो माग जारी छ । अघि पनि भनिसके– छिटो निक पर्यो, ढिलो आओस् ‘किरात’ आउनैपर्यो । नत्र आँधीबेरी आउँछ नै ।

प्रदेशको नाम माग्दा नै सदियौँ वर्ष लाग्ने हो भने अब गल्ने कि गलाउने त ?

यो त जसरी हुन्छ दलहरुले विकल्प खोज्ने नै हो । आगामी मंसिर निर्वाचनमा पनि उनीहरुको घोषणा पत्रमा जसरी हुन्छ यो प्रदेशको नाममा ‘किरात’ राखिन्छ कि राखिँदैन हेरिन्छ । भोट दिने, नदिने कुरा अर्काे हो । यद्यपि, अब झन् प्रदेशको नामाकरणको विषयमा चुनौती छन् । तर, यायोक्खा निराशा हुँदैन, निरन्तर अघि बढिरहन्छ ।

आफ्नै समूदायको मुख्यमन्त्री हुँदा त सभ्यता बोकेको, ‘किरात’ शब्द झुण्डिएको प्रदेश नामाकरण हुन सकेन अब त आशामात्र गर्ने हाे भनेर भनियाे पनि । त्यसाे त यायोक्खाका निवर्तमान अध्यक्षको काम प्रदेश मुख्यमन्त्री, प्रदेश प्रमुख र केन्द्रमा ज्ञापनपत्र बुझाउने मात्र काम भयो भनियाे। अब तपाईको भूमिका उस्तै कि फरक रहन्छ ?

उहाँको प्रयत्न र प्रयास नराम्रो भन्न मिल्दैन । आफ्नो तर्फबाट पूरापूरा निभाउनुभएको हो । यदि चुपो लागेर कोसी र सगमाथामै चित्त बुझाएको भए संघीयता र त्यसले परिकल्पना गरेको पहिचानबाट त हामी नामेट हुन्थ्यो । त्यो त बच्यो नि त । चाहेको कुरा प्राप्त नगरे पनि नचाहेको कुरा त ल्याउन दिएनौँ नि ! यसकारणले उहाँको कार्यकाललाई पूर्ण उपब्धि नमानेपनि एकखाले उपलब्धि मान्नैपर्छ ।

अब, मेरो कुरा गर्ने हो भने– कुनै पनि हालतमा प्रदेशको नामाकरण गर्दा ‘किरात’बाट पछि नहट्ने । बरु ‘किरात’ शब्दका लागि सय वर्ष तपस्या गर्ने तर ‘किरात’ सहितको प्रदेश ल्याउने । अब प्रदेश नामाकरणका लागि कस्तो स्वरुप देखाउने कि आन्दोलन गर्ने त्यो बरु गर्न तयार हुने हो । अन्य त विकल्प नै छैन ।

अन्तमा जाँदाजाँदै केहिँ भन्नुहुन्छ कि… ?

तथ्य, तर्क, प्रमाण हेरेर नै ‘किरात’ त प्रदेश नामाकरणमा राख्नैपर्छ । किरात आफैँमा बहुभाषिक र बहुपहिचान भएको शब्द हो । भूगोलको हिसाबले १ नम्बर प्रदेश त किरात हो भनेर डा. युवराज संग्रौलालगायत विद्धानहरुले भनिरहनुभएको छ । अब, बुझेर पनि प्रदेश नामाकरणमा अड्को थापिन्छ भने चाहिँ त्यो जातियताको पराकाष्ठ हो ।

 

 

  • September 29, 2022 प्रकाशित
  • सम्बन्धित