काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघका अध्यक्ष नरेशकुमार शाहीले चुनावमा जानुभन्दा अगाडि गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। शाहीले गठबन्धनका नेताहरुले न्युनतम साझा कार्यक्रमको नीतिगत अपिल सार्वजनिक गरेर मात्र चुनावमा होमिनुपर्ने सुझाव दिएका हुन् ।
उनले भने, ‘गठबन्धनका नेताहरुले औपचारिक र अनौपचारिक भेटघाटहरुमा सुझाबको रुपमा भनिएकै विषय हो । गठवन्धनले निम्न विषयहरुमा साझा दृष्टिकोण र कार्यक्रम ल्याओस भन्ने मेरो सुझाव हो।’
नेता शाहीले गठबन्धन चुनावसम्म मात्रैका लागि हो कि सरकार निर्माण र सञ्चालनसम्मका लागि हो भनेर पनि प्रश्न गरेका छन् । साथै, गठबन्धनले लोकतन्त्र, संसदीय व्यवस्था र नेपालको संविधानको रक्षामा योगदान गर्छ या गर्दैन त्यस विषयमा विशेष बहस र छलफल गरिनुपर्ने धारणा अघि सारेका छन् ।
‘गठबन्धन रणनीतिक र राजनीतिक कार्यक्रमिक मोर्चा हो वा राजनीति सैद्धान्तिक मोर्चा हो ? गठबन्धन चुनाव सम्म मात्रै हो वा सरकार निर्माण र सञ्चालनसम्म पनि हो ? गठबन्धन गर्नै पर्ने परिस्थिति के हो ? र किन बन्यो, यसले लोकतन्त्र, संसदीय व्यवस्था र नेपालको संविधानको रक्षा र बिकासमा के योगदान गर्छ?’ उनले प्रश्न गरेका छन् ।
गठबन्धनले चुनाव जितेपछि सञ्चालन गर्ने सरकारले देशको शिक्षा, स्वास्थ्य, आवास र भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नका निम्ति के छ योजना भन्दै नेता शाहीले प्रश्न गरेका छन् । ‘गठबन्धनले आन्तरिक दलीय लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, स्वयम् दलहरुको पारदर्शिताको सवालहरुमा के योगदान गर्छ ?,’ उनले प्रश्न गरेका छन्, ‘चुनाव जितेर सरकार बनाएपछि शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सुरक्षा, बिकास, रोजगारी, अर्थ व्यवस्था, भ्रष्टाचारको अन्त्य र सुशासन, सेवा प्रबाह र मूल्य वृद्धिको नियन्त्रणका सम्बन्धमा नितिगत ब्यवस्था के हुन्छ ? र यी क्षेत्रमा कसरी कामहरु गरिन्छन ?’
यसैगरी छिमेकी राष्टहरु भारत–चीनसँगको सम्बन्ध र पछिल्लो समय अस्वभाविक रुपमा नेपालप्रति बढ्दो अमेरिकाको चासोप्रति गठबन्धनको धारणा पनि बाहिर सार्वजनिक हुनुपर्ने उनको माग छ । यस्तै, देशको समग्र अर्थ नीति कस्तो बनाइने भन्नेबारेमा पनि नेता शाहीले प्रश्न गरेका छन् ।
‘देशको समग्र अर्थ निति कस्तो हुने हो, उत्पादन र वितरणलाइ समन्यायिक कसरी बनाइन्छ ? परराष्ट्र नीति र अन्तरास्ट्रिय सम्बन्धको ब्यबहारिक पक्ष कस्तो हुन्छ ? देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भू–सुरक्षा खासगरी दुई छिमेकी (भारत र चिन) सँगको सम्बन्ध र पछिल्लो समयमा अमेरिकीहरुको अस्वभाविक गतिविधिहरु प्रति गठबन्धनको दृष्टिकोण के हो ?,’ उनको प्रश्न छ ।