दसैँ जस्को हो उहाँहरुलाई शुभकामना !
  • नेरुता तामाङ ‘मोक्तान’

दसैँ परित्याग गर्नुको हास्यास्पद घटना । दसैँमा मामाघर टिका थाप्न जाँदा हजुर बुवाले आफूसङ्गै टिका थाप्ने अन्य भुराहरुलाई पैसा दिएको तर मलाई चहिँ सेतो कलरको बुकिफूल जस्तो एउटा सेतो फूल मात्रै दिनुभएको थियो ।

त्यहि कुरामा चित्त दुखेको दिनदेखि दसैँको टिकापनी नलाउने र मामाघर पनि नजाने बाचा गरेको मान्छे म आज साँच्चै मामा घर नगएको पनि कम्तिमा १८ वर्ष त पक्कै भयो नै र दसैँको टिका नलगाएको त्यति नै भयो ।

साँच्चै भन्नुपर्दा विभेद भनेपछी म सानैदेखि डटेर प्रतिकार गर्थें । आज मेरो हजुरबा हुनुहुन्न उहाँप्रती श्रध्दा सुमन । मामाहरु प्रती अटल सम्झना ।

र म बुझ्ने उमेरको भएपछी थाहा पाएँ कि ममाथि विभेद किन भयो ? किनकि म उहाँको आफ्नै नातिनी होइन रहेछु । उहाँ त साइनोको हजुर बुवा हुनुहुन्दो रहेछ । मामालाको आफ्नै हजुर बाबा त मेरो आमा सानै उमेरको छँदा बित्नुभएको रहेछ ।

त्यो कुरा बुझेपछि त झनै मामाघर जानै मन लागेन । दसैँको सन्दर्भमा अझ बुझ्ने भएपछित झन् दसैँ नै विभेदकारी चाड हो भन्ने बुझेँ किनभने दसै हामी तामाङहरुको चाड हुँदै हैन रहेछ यो त उ बेला हिन्दूकरणको क्रममा जबर्जस्त लादिएको चाँड रहेछ भन्ने बुझेँ । हाम्रो आफ्नो पर्व भनेको ल्होछार रहेछ भन्ने बुझेँ ।

अन्तमा अहिले आएर के बुझेँ भने दसैँ मेरो, हाम्रो चाड हैन, मान्नु, नमान्नु मेरो सांस्कृतिक अधिकारको कुरा हो तसर्थ अरुको चाडपर्वलाई बहिष्कार गर्नुपनि मेरो मुर्खता नै हुनेछ भन्ने बुझेँ ।

त्यसैले दसैँ जसको हो उहाँहरुलाई शुभकामना ! सामाजिक सद्भाव कायम राखौँ । तर सामाजिक सद्भाव कायम राख्ने ठेक्का हामीले मात्रै लिनुपर्छ भन्ने चहिं हुँदै हैन त्यसैले तपाईहरुको दसैँ तिहारलाई हाम्रो सम्मान छ र हाम्रो ल्होछारलाई पनि नेपालीहरुकै पर्व हो भनि बुझिकन सद्भाव राख्ने कार्यको सुरुवात हुन जरुरी छ । यो गुनासो कुनै समुदाय धर्म र जातजातिसङ्ग भन्दा पनि राज्यसङ्ग हो ।

भनाईको तात्पर्य तपाईहरुको दसैँले १५ दिन सार्वजनिक बिदा हासिल गर्दै गर्दा हाम्रो ल्होछारले दुईदिन पनि सार्वजनिक बिदा नपाउनुको रहस्य के हो र यो राज्यद्वरा गरिने विभेद हो कि हैन ? राज्यबाटै प्रष्ट धारणा आउनुपर्छ भन्ने हाम्रो माग हो ।

समुदाय, जात, धर्म, वर्ग, क्षेत्र, लिङ्ग सबैले समान अधिकार पाउनुपर्छ । हाम्रो देश बहु जातिले सुसज्जित देश हो सबैको आ–आफ्नै चाडपर्व, भाषा धर्म संस्कार संस्कृति छन् । एकले अर्कोको संस्कार संस्कृति भाषा धर्मको सम्मान गरौँ समान व्यवहार गरौँ ।

फेरि पनि सम्पूर्ण हिन्दू धर्मलम्बिहरुमा दसैँको अनगिन्ती शुभकामना !

 

  • September 27, 2022 प्रकाशित
  • सम्बन्धित