प्युठानमा बृहत् साहित्य/सङ्गीत महोत्सव सुरु
  • मूलधार

स्वर्गद्वारी (प्युठान) । ‘साहित्य,कला,संस्कृति र पर्यटनको विकास, साहित्य परिषद् प्यूठानको जीवन्त इतिहास’ मूल नाराका साथ कला साहित्यको खानीका रुपमा परिचित प्युठानमा ‘बृहत् साहित्य/सङ्गीत महोत्सव–२०७९’ सुरु भएको छ ।

साहित्य परिषद् प्युठानद्वारा आयोजित महोत्सवको उद्घाटन देशकै प्रख्यात धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारी मन्दिर परिसर प्युठानमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. डा. गोपिन्द्र पौडेलले गरेका हुन् ।

तीन दिने महोत्सब समारोहमा प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला समन्वय समिति प्युठानका प्रमुख धर्म बहादुर जि.सी., लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक प्रा.डा.गितु गिरि, गुठी संस्थानका केन्द्रीय अध्यक्ष डा. शिवराज पण्डित, राष्ट्रिय भूमी आयोग प्युठानका अध्यक्ष इमानसिंह खडका, राससका पूर्व प्रधानसम्पादक तथा बरिस्ठ कवि प्रमोद प्रधान, आबुखैरेनी वाङ्ममय परिषदका अध्यक्ष कवि अनिल श्रेष्ठ, प्रेस काउन्सिल नेपालका सदस्य कवि ठाकुर बेल्बासे र रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

महोत्सव उद्घाटन समारोह आयोजक संस्थाका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सुचारु भ्एको थियो भने कार्यक्रम सञ्चालन साहित्य परिषद प्युठान–काठमाडौं सम्पर्क समितिका सचिव भावेश भुमरिले गरेका थिए । समारोहमा स्वागत मन्तव्य आयोजक संस्थाकी उपाध्यक्ष विमला खनालले राखेकी थिइन् भने महोत्सवको औचित्य र संस्थाको इतिहासबारे साहित्य परिषद प्युठान–काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष विजयराज आचार्यले प्रकाश पारेका थिए ।

महोत्सवमा देशका विभिन्न क्षेत्रबाट झण्डै पाँच दर्जन कवि, कलाकार र साहित्यकारहरुले सहभागिता जनाएका छन् । तीन दिन चल्ने महोत्सवको पहिलो दिन स्वर्गद्वारी आश्रमको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ निबन्धकार तथा नियात्राकार युवराज नयाँघरे , कविहरु प्रमोद प्रधान, प्रोल्लास सिन्धुलिय, ठाकुर बेल्बासे, आविष्कार कला (युवराज शर्मा पोखरेल), मनु बि.क., अनिल श्रेष्ठ, बिष्णु प्रसाद आचार्य ‘अतृप्त’, छविलाल कोपिला र बालकवि प्रगल्भा सिन्धुलिय लगायतले सशक्त कविताहरु वाचन गरेका छन् । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव लक्ष्मी रिजाल ‘उदय’ ले जनगायक जीवन शर्माको शब्द र सङ्गीतमा रहेको ‘मधेशी पहाडी’ बोलको राष्ट्रिय भावले ओतप्रेत भएको गीत प्रस्तुत गरेका थिए । जनकलाकार हेमराज आश्रमलेसमेत कार्यक्रममा गीत प्रस्तुत गरे ।

महोत्सवमा सहभागी भएका कवि, कलाकार र साहित्यकारहरूको टोलीले कार्यक्रममा प्रस्तुति दिनुका साथै प्युठानका विभिन्न पर्यटकीय स्थानहरुको अवलोकनसमेत गरिरहेको छ । महोत्सवअन्तर्गत १२ असोजमा प्युठानको पर्यटकीय स्थल बादिकोट– ओखरकोटमा र १३ गते जनता मा. वि. बाग्दुलामा रचना वाचन, स्थानीय लाखे नाँच, झाँक्री प्रदर्शन, प्रवचन, सम्मानलगायतका कार्यक्रमहरु हुनेछन्। आयोजकहरुका अनुसार महोत्सवको समापन १३ असोजको साँझ गरिनेछ ।

  • September 27, 2022 प्रकाशित
  • सम्बन्धित