विष्णु आचार्य नुवाकोट विदुर नगरपालिका–५ माझीटारमा वि.स. २०३० पुष ५ गते जन्मिएका हुन् । उनको साहित्यिक नामचाहिँ ‘अतृप्त’ अर्थात् विष्णु आचार्य ‘अतृप्त’ । नेपाली र जनप्रशासन (एमपीए) मा स्नातकोत्तर गरेका आचार्यले उच्च शिक्षा स्नातक नुवाकोटमै छिचोले र आफू पढेकै कलेजमा १५ वर्ष नेपाली विषय प्राध्यापन पनि गरे । बुवा पुष्पराज आचार्यको दिव्योपदेश पाएर हुर्किएका आचार्यले पनि छन्द कविता र निबन्ध लेख्थे । तर, परिवर्तनशील समाजअनुसार चल्नुपर्छ भन्ने विश्वास राख्ने आचार्य भने अहिले छन्द होइन गद्य कविता कोर्न रुचाउँछन् तर पढ्न, गुनगुनाउनचाहिँ छन्दै मज्जा लाग्छ उनलाई ।
बुवाकै प्रेरणाले साहित्यको लठ्ठी समात्न पुगेका आचार्यलाई २०४४ सालमा ८ कक्षामा पढ्दाको ताजा याद छ । स्वीर्गीय राजा वीरेन्द्रको जन्मोत्सबमा जिल्लाव्यापी कविता प्रतियोगितामा तेस्रो भएका थिए उनी । त्यहिँ पुरस्कारले उनमा साहित्यमा गहिरो प्रभाव जमायो । भनौँ न, आचार्यले बुवाको बिडो पनि थामे । उनी विशेषतः कविता र निबन्ध नै लेख्न रुचाउछन् । यो त भयो आचार्यको साहित्यिक चिनारी ।
२०५२ सालेखि स्नातक पढ्न थालेसँगै निरन्तर साहित्यको यात्रामा अथक आचार्य सरकारी कर्मचारी पनि हुन् । २०५९ जेठमा निजामती सेवामा प्रवेश गरेका आचार्य हाल नेपाल विद्यत् प्राधिकरणमा सेवारत छन् । खाने मुखलाई जुंगाले छेक्दैन भनेझैँ पेशासँगै साहित्यमा रुचि राख्ने कर्मचारीहरुको थलो वा संस्था नै छ– विद्युतकर्मी साहित्यिक समाज । साहित्यिक समाजका सचिव हुन् आचार्य । उनै आचार्यले अहिले पहिलो साहित्यिक कृति बजारमा ल्याएका छन्– ‘घर फर्कने तिर्खा’ । मूलधारले आचार्यसँग उनको पहिलो कृति र साहित्यबारे भलाकुसारी गरेको छ :
भर्खरै नयाँ साहित्यिक कृति ‘घर फर्कने तिर्खा’ बजारमा ल्याउनुभएको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
पहिलो कृति विभिन्न प्रकाशन गृहहरुले पनि छाप्न तत्पर रहँदा रहँदै पनि आफ्नै संस्थाबाट निकाल्ने अठोटका साथ छापेको छु । पहिलो कृति मेचीदेखि महाकालीसम्म फैलियोस् भन्ने सोचभन्दा पनि आफ्नै साथीभाइहरुको प्रतिक्रिया पाउनकै लागि पहिलो कृति कविता संग्रह ल्याएको हुँ । मलाई नाफा घाटाभन्दा पनि प्रतिक्रिया बटुल्नकै लागि पहिलो कृति हाम्रै साहित्यिक संस्थाबाट बाहिर ल्याएको छु । र, पहिलो कृतिको प्रतिक्रियास्वरुप आगामी कृतिहरु निजी प्रकाशन गृहबाटै छाप्नेछु ।
पछिल्लो समय कविताभन्दा फिक्सनमा रुचि राख्ने पाठकहरुको भीड बाक्लो छ । यस्तो अवस्थामा कविता नै किन ?
म आफैँलाई नेपाली भाषा, साहित्यमा १५ वर्ष अध्यापन गराएको अनुभव छ । त्यो अवधिमा साहित्यका प्राय सबै विद्यामा मैले कलम चलाएको छु । समीक्षा पनि बेलाबेलामा लेख्छु । यसरी भन्नुको मतलब पछिल्लो समय आख्यानमा जति रुची छ त्यसभित्र पनि कविताका अंशहरुको प्रवेशले मात्र त्यो जिवन्त रहन्छ । जस्तो कि सेतो धरती, करोडौँ कस्तुरी, गुलाबी उमेरै पढे पनि राम्रो कविता लेख्न नसके आख्यान लेख्न सकिँदैन । त्यसैले साहित्यको बिज भनेकै कविता हो । यो सबैले स्वीकार्नुपर्छ । यहिँ कारण मैले पहिलो कृति कविता नै बजारमा ल्याएको हुँ । मसँग लघुकथा, निबन्ध पनि प्रकाशनका लागि तयार नभएका होइनन् तर, गम्भीर ठम्याइ के भयो भने– सबै विद्याको जरा कविता हो । त्यसैले मेरो साहित्यिक यात्रा कविताबाटै गरेको हुँ । आगामी कृति आख्यानै ल्याउन पनि सक्छु ।
अहिलेको तपाईले ल्याउनुभएको ‘घर फर्कने तिर्खा’ कस्तो कविता संग्रह हो ?
छन्दले धान्दैन भन्ने पटक्कै होइन । तर, छन्दमा सीमितता हुने भएकाले छन्दले मात्र अब साहित्य चल्दैन, आधुनिक साहित्य पनि टिक्दैन भन्ने हो । म आफैँ छन्द कविता पढाउने, लेखाउने शिक्षक हुँ तर, गद्यमा जस्तो छन्दमा त्यसको भाव र यथार्थ झल्किदैन । र, म आफू पनि छन्द नभई गद्यमै कविता लेख्छु । हो अहिले पनि म सुन्नलाई गद्यभन्दा पनि छन्दकै कविता सुन्छु । तर, लेख्नचाहिँ गद्य नै छनोट गर्छु । त्यसकै अंश हो– ‘घर फर्कने तिर्खा’ । अहिले मलाई छन्दमै कविता लेख्न हुटहुटी चलेको छ । अहिले छन्दमै पनि कविता कोरौँ भन्ने जमर्काे पनि चलेको छ ।
घर फर्कने तिर्खाले आम पाठकलाई दिन खोजेको सन्देश के हो ?
‘घर फर्कन तिर्खा’ भित्र ४८ कविताहरु छन् । विविध भागहरु छन् । सिंगो कृति पढ्ने पाठकहरुले फरक फरक स्वाद लिन सक्नेछन् । कतै राष्ट्रियताका कुरा, व्यंग्य, मान्छेका मनोविज्ञान, भोगिएका तिक्तता, विसंगती, विकृतिका भावहरु यो कवितामा पाउनुहुनेछ ।
अब कुराकानीलाई बदलौँ, साहित्यमा आकर्षण हुनुको कारण ?
पहिलो त नशा नै हो । अनुभूतिपछि मुक्तक, गजल, कविताबाट अभिव्यक्ति दिन मन लागिहाल्ने÷लागिहाल्छ । दोस्रो त बुवाको प्रेरणा पनि ठान्दछु । विशेषतः साहित्य सोझो ढंगले प्रस्तुती नगरेर कलात्मक, लयात्मक र भावनात्मक शैली प्रयोग गर्ने भएकाले नै यसतर्फ रुचि गाढिएको ठान्दछु । साहित्यले आदेश, हस्तक्षेप भन्दा पनि मनन गरेर मानिसको व्यवहार नै समग्र परिवर्तन गर्छ । यो नै यसको बलियो हतियार र आकर्षणको केन्द्र हो मेरा लागि ।
जागिर र साहित्यलाई व्यवस्थापन गर्न त पक्कै सजिलो छैन होला । समय व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
समय व्यवस्थापन जटिल नै हो । आजभन्दा ४ वर्षअघि जति सजिलो समय व्यवस्थापन गर्थे तर आज त्यो अवस्था छैन । परिवार, जागिर र साहित्य चाहेजसरी व्यवस्थापन गर्न त सजिलो छैन तर, इच्छाशक्ति नै प्रमुख रहेछ । त्यसमाथि आफू एक्लै घरमा रहने र कतै भागेर प्रकृतिमा वा अन्य एकान्त ठाउँमा गएर साहित्य फुराउने, लेख्ने समय पनि हुन्न । तर, आफू जहाँ छु त्यहिँ नै अवस्थामा आफूले देखेको, भोगेको कुरालाई विचरण गरेर कोठामा आएर साहित्य कोर्न थाल्छु । आफू लेख्न बस्दा परिवारलाई समय यकिनै गरेर त्यसअवधिभर डिस्टर्व नगर्न भन्छु । जागिर त छँदैछ, जागिर समयभन्दा बाहिरको समय बिहान बेलुकी र बिदाको दिन साहित्यमा जम्छु । लेखेको कुरा परिमार्जन गर्न फेरि त्यसरी नै बिहान, बेलुकी र बिदाको दिन सदुपयोग गर्छु । मेरो हकमा साहित्य लेखनमा समयभन्दा पनि इच्छाशक्ति नै चाहिनेरहेछ ।
साहित्य कसैका लागि लेख्नु हुन्छ कि आफ्नै मज्जाका लागि लेखेर अन्तमा बाहिर सार्वजनिक गर्नुहुन्छ ?
साहित्यको प्रयोजन के हो भन्ने हो । मूलतः आत्मसन्तुष्टि (स्वन्तसुखाय) । कवितामा कवि वा रचयितामात्र होइन पाठकले पनि आफूलाई पाउनुपर्छ । राम्रो र उत्कृष्ट साहित्यले साँच्चिकै नयाँ छाप राख्छ जस्तो– मुनामदन । यसकारण साहित्य एकैचोटी देखिइहाल्ने विधा होइन । आफूलाई लागेका, देखेका कुराहरुलाई गहनरुपमा मनन, विचरण गर्दै जन्मिने नयाँ सिर्जना हो र यसको छाप ढिलो चाँडो देखिन मात्र हो ।
साहित्य लेखनका लागि ‘होलटाइमर’ बन्नैपर्छ ‘पार्टटाइम’ले हुँदैन भन्ने एकथरी मत छ । यस विषयमा तपाईको मत के छ ?
होलटाइमर भई नोटबुक च्यापेर कतै एकान्त जाँदा सामाजिक विषयवस्तु आझेलमा पर्छ जस्तो लाग्छ । पहिलेजस्तो प्रकृति (हिमाल, पहाड, वनजंगल, हावा, पानी) मात्र होइन अब त सामाजिक (मान्छेका कथा) कवितामा आउनुपर्छ । अब परम्परागत होइन नयाँ तरिकाले अघि बढ्ने समय हो । फेरि यसो भन्दै गर्दा पूराना बिर्सने भन्ने होइन । पूरानालाई मनन गरेर नयाँ प्रयोग गर्ने हो साहित्यमा । पहिलेजसरी मान्छेबाट भागेर मात्र साहित्य सिर्जना हुँदैन अब भीडमै छिर्नुपर्छ । यस विषयमा अन्तक्र्रिया गर्नैपर्छ । यसकारण साहित्य लेख्ने मान्छे अब भीडमै छिर्नपर्छ, त्यसको हिस्सा बन्नैपर्छ । हो, त्यसलाई कलात्मक ढंगले प्रस्तुत गर्न एकान्त कोठा वा स्थान चाहिन्छ । यसकारण साहित्यमा पूर्णकालीन हुनुपर्छ जस्तो लाग्दैन मलाई ।
भीडसँगै अबको साहित्य कस्तो हुनुपर्छजस्तो लाग्छ ?
लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरुको समय सीमित समयमा बाँचेको समय थियो । त्यसको अर्काे विकल्पै थिएन । प्रकृतिका कविताहरु कोर्ने, घरव्यवहार, पशुपालनकै समय थियो । बनारस जाने वेद, पूराण र उपनिषद पढ्ने र पढेका कुरालाई साहित्यमा प्रयोग गर्ने त्यतिबेलाको चलन थियो । अहिलेको समय त प्रविधिले फड्को मारिसकेको छ । प्रविधिसँगै मानिस, प्रकृति र सम्बन्धहरुमाझ नयाँ अवरोह, आरोहरु थपिइरहेका छन् । साहित्य मन पराउने पुस्ताहरुको रुचि पनि फेरिएको छ । त्यसैले अबको साहित्य भने समसामयिक घटना र विषयवस्तुहरु नै हुन् जुन प्रविधिसँगसँगै दौँडिरहेका छन् र हामी पनि दौँडिनुपर्छ । परम्परागत शैलीमा थुप्रै साहित्य लेखिए र तिनको सम्मान गर्दै आधुनिक साहित्यमा मोडिनै पर्छ ।
अन्तमा त्यसो हो भने तपाईको विचारमा अब नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याउने विकल्पचाहिँ के हो त ?
पहिलो त बालबच्चालाई नेपाली भाषामा पोख्त गर्नैपर्छ । अंग्रेजी रटाएर नेपाली साहित्यले मलजल पाउँदैन । अहिले स्कुले पढाइ सकेर उच्च अध्ययनमा ऐच्छिक नेपाली पढ्ने विद्यार्थीहरु औँलामा गन्न सकिने छन् । जाने नजाने पनि सिकोर गरेर ऐच्छिक अंग्रेजी परम्परा पढ्ने बानी छ । यसो हुँदा नेपालीमा पोख्त हुन सक्ने विद्यार्थी कनीकुथी अंग्रेजीकरण हुन जान्छ र त्योसँगै साहित्यको पनि अवसान हुन्छ । यसरी नेपाली साहित्य सुरुमै कमजोर गरिएको छ । र, अघिल्ला पुस्ताले लेखेको साहित्य पअिघिल्ला पुस्ताले लेखेको साहित्य पछिल्ला पुस्ताले बुझ्न सक्दैनन् ।
यसो भनिरहँदा यसको विकल्प पनि छ । लेखिएका साहित्य सिर्जनाहरुलाई बहुभाषामा उल्था गर्न सकिए नेपाली साहित्य जिवन्त रहन्छ । तर, यदि यसो हुन नसकेमा अबको केही दशकमै जति राम्रो साहित्य लेखे पनि नेपाली साहित्यले फड्को मार्दैन ।