सन्दीप लामिछानेलाई विदेशबाट पक्राउ गर्ने बाटो खुला, इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी
  • मूलधार

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी मुद्धाका आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले गएको शुक्रबार लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

डिफ्युजन नोटिस जारी भएसँगै लामिछानेलाई पक्राउ गरी इन्टरपोलले नेपाल प्रहरीले बुझाउन सक्नेछ । डिफ्युजन नोटिस जारी भएसँगै अब उनलाई इन्टरपोलमा आवद्ध रहेका १३५ देशका प्रहरीले पक्राउ गर्ने बाटो खुलेको छ । हाल सन्दीपसँग अमेरिकालगायत विभिन्न पाँच देशको भिसा रहेको बताइएको छ ।

गत भदौ ५ गते लामिछानेले काठमाडौंको एक होटलमा नाबालिग किशोरीलाई लगेर जबर्जस्तीकरणी गरेको आरोपमा उनीविरुद्ध पीडितले मुद्धा दायर गरेका छन् । लामिछानेविरुद्ध जबर्जस्तीकरणी मुद्धा दायर गर्दा लामिछाने केन्या ट्वन्टी–२० श्रृंखला खेल्न गएका थिए र त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि वेस्टइन्डिज पुगेका थिए । र, उनीविरुद्ध जाहेरी दर्ता हुँदा लामिछाने वेस्टइन्डिजमै थिए ।

जाहेरी परेको भोलिपल्ट भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ पूर्जी जारी गर्यो । तर, भोलिपल्ट २४ गते फेसबुक र ट्विटरमार्फत लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किने बताएका थिए ।

फेसबुक र ट्विटरमार्फत नेपाल फर्किने भनेका लामिछाने त्यसपछि फरार थिए । तर, आइतबार राति एक्कासी फेसबुकमार्फत आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै कानुनी उपचार खोज्ने बताउँदै आफू आइसोलेसमा रहेको बताएका थिए । लामिछानेले स्टाटस लेखेको भोलिपल्टै इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

  • September 26, 2022 प्रकाशित
  • सम्बन्धित