काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले विकासका नाममा संरचना भत्काउन नहुने बताएका हुन् ।
उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो पार्ने भन्दै घर भत्काउन नहुने बताए । पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्त्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमश: देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । सहरका पहिलाका घरहरू जस्ता छन्‚ त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नु हुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ; त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ ।’
आफूहरूले यसलाई विश्वमा चिनाउन सक्छौं । पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेको भन्दै उनले अब क्रमश: देशको पर्यटनको काम बढ्ने र पर्यटनबाट आर्थिकोपार्जन हुने विश्वाससमेत व्यक्त गरे ।
मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको समेत बताएका छन् । उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारे पनि मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको बताए ।