‘चोलेन्द्रकी छोरी सुनिधि राणा हुँ’ भन्ने मीना एमाले कार्यकर्ता
  • मूलधार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने भनेपछि सर्वोच्च र राणानिवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन गरियो । आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका राणा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिन पाएनन् ।

त्यसपछि राणाले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताए । त्यहाँ पत्रकाहरुको टोली पुगिसकेको थियो । यसैक्रममा राणा निवासबाट गाडी चढेर आएकी एक जना महिलाले पत्रकारहरूलाई प्रतिक्रिया दिइन् ।

उनले सञ्चारकर्मीसँग आफू चोलेन्द्र शमशेरकी छोरी सुनिधि राणा भएको बताइन् । उनले मिडियालाई लामो अन्तर्वार्ता पनि दिइन् । उनले सरकारको व्यवहारको कडा शब्दमा भर्त्सना पनि गरिन् ।

सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार गरेको, भित्रबाट बाहिर निस्कन नदिए गुनासो गर्दै न्यायालय जोगाउन जनता घरबाट निस्कन अपिलसमेत गर्न भ्याइन् । ‘हामीलाई बाहिर निस्कन पनि दिइराख्या छैन। बच्चाहरू स्कुलबाट लिन जानुपर्छ। बच्चा ल्याउने काम गर्ने मानिस बाहिर आइराखेको बेला उसलाई पनि समातेर थुन्दियो, हामीले पनि बाँच्न पाउनुपर्‍यो नि,’ उनले भनेकी थिइन्, ‘यो त एकदमै अराजकताको पनि पराकाष्ठा छ। अब के कारणले यिनीहरूले गरिराख्या छ बुझिराख्या छैन। एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि अन्याय र अत्याचार नै भएको छ।’

स्रोतका अनुसार, राणाकी सुनिधि नामकी कुनै छोरी छैनन् । उनका दुई श्रीमतीमध्ये जेठी उमा हमालतर्फबाट छोरी श्रृष्टि र छोरा सचिन्द्र शमशेर छन् । स्टोभ पड्किएर उमाको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए । दोस्रो श्रीमतीतर्फबाट छोरी समृद्धि मात्र छिन् ।

चोलेन्द्रकी छोरी भन्दै मिडियालाई अन्तर्वार्ता दिएकी ती युवती को हुन् ? उनी हुन् दैलेखकी मीना जोशी । उनको घर दैलेखको साविक चामुण्डा गाविस हालको चामुण्डा, बिन्द्रासैन नगरपालिका हो । स्थानीय देवीराम जोशीका दुई छोरीमध्ये उनी जेठी हुन् ।

आखिर को हुन्, मीना ?

चोलेन्द्रकी नक्कली छोरी बन्ने मीना एमाले कार्यकर्ता भएको राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले पत्ता लगाएका छन्। आफूलाई चोलेन्द्रकी छोरी भनेर चिनाउने मीना असोज २ गते ओली निवास बालकोटमा पुगेर केपी ओलीसँग फोटो खिचाई एमालेमा प्रवेश गरेको बताइएको छ ।

नेकपा एमालेमा प्रवेश कार्यक्रममा मीनाले आफू एमालेमा प्रवेश गर्न पाउँदा निकै खुशी र भाग्यमानी भनिन् । मुलुककै ठूलो दल हुनुको नाताले पनि एमाले जनताको पार्टी भएको पनि उनले भनिन् ।

ओलीको समृद्ध नेपालको भिजनबाट आफू निकै प्रभावित भएको बताउँदै मीनाले एमालेले सरकारको नेतृत्व गर्दा देशव्यापी रुपमा विकास निर्माणका काम अघि बढेको पनि बताइन् । साथै, आफू एमालेको एक सच्चा कार्यकर्ता हुन पाउँदा गौरवको अनुभुति भएको पनि उनले अन्तमा भनेकी थिइन् ।

  • September 21, 2022 प्रकाशित
  • सम्बन्धित