राष्ट्रपतिको कदममा उपराष्ट्रपति असन्तुष्ट, भने- ‘संविधानको दायरभन्दा बाहिर जाने छुट छैन’
  • मूलधार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ वक्तव्य नै जारी गरेर असन्तुष्टि व्यक्त गरेका छन् ।

संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालना नभएकोमा असन्तुष्टि जनाएका हुन् ।

बुधबार जारी वक्तव्यमा भनिएको छ, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

उपराष्ट्रपति पुनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबैसँग आग्रह गरेका पनि छन्। उनले भनेका छन्, ‘संविधान दिवसमा गरेको प्रतिवद्धतालाई स्मरण गर्दै संविधानको पालना र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’

  • September 21, 2022 प्रकाशित
  • सम्बन्धित