काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने बताएपछि सर्वोच्च र राणानिवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन भएका थिए ।
आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका राणा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएनन् । राणाले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताएका थिए ।
प्रधानन्यायाधीशको सरकारी निवास बाहिर पत्रकारहरू पनि आइतबार साँझपखसम्मै बसेका थिए । यसैक्रममा राणा निवासबाट गाडी चढेर आएकी एक जना महिलाले पत्रकारहरूलाई प्रतिक्रिया दिइन् ।
उनले आफू चोलेन्द्र शमशेरकी छोरी, सुनिधि राणा भएको बताएकी थिइन् । उनले मिडियालाई लामो अन्तर्वार्ता दिइन् । उनले सरकारको व्यवहारको कडा शब्दमा भर्त्सना गरेकी थिइन् ।
सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार गरेको, भित्रबाट बाहिर निस्कन नदिए गुनासो गर्दै न्यायालय जोगाउन जनता घरबाट निस्कन अपिलसमेत गर्न भ्याइन् ।
‘हामीलाई बाहिर निस्कन पनि दिइराख्या छैन। बच्चाहरू स्कुलबाट लिन जानुपर्छ। बच्चा ल्याउने काम गर्ने मानिस बाहिर आइराखेको बेला उसलाई पनि समातेर थुन्दियो, हामीले पनि बाँच्न पाउनुपर्यो नि,’ उनले भनेकी थिइन्, ‘यो त एकदमै अराजकताको पनि पराकाष्ठा छ। अब के कारणले यिनीहरूले गरिराख्या छ बुझिराख्या छैन। एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि अन्याय र अत्याचार नै भएको छ।’
आत्मविश्वासका साथ सरकार र वरिष्ठ अधिवक्ताहरूविरुद्ध खनिएकी ती युवती राणाकी आफ्नै छोरी भने नभएको खुलेको छ । उनले आफू चोलेन्द्र शमशेरको छोरी भएको बताए पनि चोलेन्द्रले बुझाएको सम्पत्ति विवरण फारममा उनको नाम उल्लेख छैन । छोरा छोरीको विवरणमा सचिन्द्र शमशेर जवरा, सृष्टि राज्यलक्ष्मी राणा रावल, सम्बृद्धि राज्यलक्ष्मी राणा कुँवरको नाम उल्लेख छ ।
स्रोतका अनुसार, राणाकी सुनिधि नामकी कुनै छोरी छैनन् । उनका दुई श्रीमतीमध्ये जेठी उमा हमालतर्फबाट छोरी श्रृष्टि र छोरा सचिन्द्र शमशेर छन् । स्टोभ पड्किएर उमाको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए । दोस्रो श्रीमतीतर्फबाट छोरी समृद्धि मात्र छिन् ।
चोलेन्द्रकी छोरी भन्दै मिडियालाई अन्तर्वार्ता दिएकी युवती हुन्– दैलेखकी मीना जोशी । उनको घर दैलेखको साविक चामुण्डा गाविस हालको चामुण्डा(बिन्द्रासैन नगरपालिका हो । स्थानीय देवीराम जोशीका दुई छोरीमध्ये उनी जेठी हुन् ।
चोलेन्द्रको छोरी बताएकी सुनिधिको प्रतिक्रिया लिएको न्युज एजेन्सी नेपालले सोमबार विज्ञप्ति जारी गर्दै ‘आफू प्रधानन्यायाधीशको छोरी हुँ भनि भिडयोमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको छोरी नभएको निष्कर्ष निकालेका छौं’ भनेको छ ।
न्युज एजेन्सी नेपालले विभिन्न मिडियालाई भिडिओ, समाचार सेवा दिन्छ। उक्त संस्थाकी कार्यकारी प्रमुख कृष्णा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा गलत सूचना परेकोले माफी माग्दछौं र जिम्मेवारी लिन्छौं भनिएको छ ।
यसबारे शिलापत्र डटकमले ‘चोलेन्द्र शमशेरकी छोरी भनेर हिजो मिडियामा छाएकी युवकी को हुन् ?’ भनेर सोमबार नै समाचार लेखेको थियो ।