ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली
  • मूलधार

काठमाडौँ । बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सोमबार बंगलादेशको सामना गर्दै छ। नेपाल र बंगलादेशबीचको विजेता नै साफ महिला च्याम्पियनसिपको नयाँ विजेता हुनेछ। कारण यसअघिका पाँचै संस्करणमा उपाधि जित्दै आएको भारत यस पटक भने सेमिफाइनलबाटै बाहिरिसकेको छ।

समूह चरणमा बंगलादेशलाई नतिजा सुम्पिएको भारत शुक्रबार दोस्रो सेमिफाइनलमा नेपालसँग निराश भएको थियो। जुन जित नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपको १२ वर्षको इतिहासमा भारतविरुद्ध निकालेको पहिलो जित थियो। समूहचरणमा भुटान र श्रीलंकाजस्ता सहज प्रतिद्वन्द्वी पाएको नेपालले भारतविरुद्ध वास्तविक परीक्षा उत्तीर्ण गरेको थियो। बंगलादेशविरुद्धको खेल नेपाली टोलीका लागि अर्को परीक्षा हो।

नेपाली महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको फाइनल खेल्न लागेको यो लगातार दोस्रो पटक हो भने समग्रमा चौथो पटक। सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपको पहिलो, दोस्रो र तेस्रो संस्करणको फाइनल प्रवेश गरेको नेपाल तीनै पटक फाइनलमा भारतसँग निराश भएको थियो। चौथो संस्करणमा भारतसँग सेमिफाइनलमा पराजित भएको नेपाल सन् २०१९ मा विराटनगरमा भएको पाँचौं संस्करणको फाइनलमा भारतसँग पराजित भएको थियो।

नेपालसामु घरेलु मैदानमा उपाधि राख्ने अवसर छ। जुन अवसर खेर जाने दिने पक्षमा नेपाली चेली छैनन्। ‘हामी बोलेरभन्दा पनि खेलेर आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छौं,’ पहिलो पटक राष्ट्रिय महिला टोलीको कप्तानी सम्हालेकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले भनिन्, ‘हामी नेपाली महिला फुटबलमा इतिहास रच्ने संघारमा छौं र त्यसका लागि हामी निकै उत्साही छौं।’

नेपाल र बंगलादेशका महिला फुटबल टोली पछिल्लो पटक गत वर्ष दशरथ रंगशालामा भिडेका थिए। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आएको बंगलादेशले घरेलु टोलीलाई एक खेलमा नतिजा सुम्पिएको थियो भने अर्को खेलमा बराबरी खेलेको थियो।

  • September 19, 2022 प्रकाशित
  • सम्बन्धित