काठमाडाैं । प्रीति कुलुङ राई । जन्म सोलुखुम्बुको महाकुलुलङ गुदेल, २०६१ मंसिर ५ गते । उचाई ४ फिट १० इन्च । तौल ४८ के.जी. । मनपर्ने कलाकार (एक्टर) दयाहाङ राई । प्रिय फुटबल खेलाडी लियोनल मेसी ।
मिडफिल्डर प्रीति राई अहिले १७ वर्षकी भइन् । अहिलेसम्म देब्रे खुट्टाले बेसी गोल गरेकी प्रीतिकै पासले रश्मी कुमारी घिसिङले भारतविरुद्ध गोल गर्दै नेपाललाई पाँचाैँपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पुर्याइन् । यदि प्रीतिले उत्कृष्ट बल पास नदिएकी भए नेपाल साफ खेलको फाइनलमा पुग्थ्यौ वा पुग्दैनथ्यौँ ? त्यो भन्न सकिँदैन । तर, पटकपटक गरि चार पटक भारतसँग फाइनलमा पराजित हुँदै आएको नेपाल पाँचाैँपटक पुन: फाइनलमा पुगेको छ । र, नेपाल पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधि चुम्ने तरखरमा छ ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेपछि प्रीतिको उचाइ झनै चुलियाे। किनकि उनकै पासले पुन: नेपाल फाइनलमा पुगेर इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी उदीयमान तथा कान्छी खेलाडी हुन् प्रीति । प्रीतिबाट एन्फाले मात्र होइन सारा नेपालीले आशा गरेको छ । नेपाल मैदान प्रवेश गरेपछि कसरी राम्रो प्रदर्शन गर्ने भन्नेमै ध्यान केन्द्रित गर्ने प्रीति १६ वर्षको उमेरमै नेपाली राष्ट्रिय टोलीमा प्रवेश गरेकी हुन् ।
उनी सानैदेखि फुटबल खेल्थिन् । आमा पनि पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल हुन प्रीतिलाई भन्थिन् । र, परिवारमा आमा बुवा, भाइ सबैले सपोर्ट गर्थे । नेपाली युथ प्रोगाम क्लबमा ७ कक्षामा अध्ययन गर्दै जोडिएपछि उनको फुटबल यात्रा सुरु भएको उनी बताउँछिन् । त्यहिँ क्लबबाट प्रीतिले अनुशासन, खेल सबै कुरा सिके । यहाँसम्म आइपुग्दा परिवार र क्लबकै हात रहेको उनको भनाइ छ ।
को हुन् प्रीति ?
सोलुखुम्बुबाट प्रीतिको परिवार कामको सिलसिलामा राजधानी आएको थियो । काठमाडौंमा हुर्केकी प्रीति परिवारकी जेठी सन्तान हुन् । प्रीति ७ वर्षको उमेरबाटै फुटबल खेल्न सुरु गरिन् । फुटबलमा औँधी रुचि राख्ने प्रीति घरमै भाइहरुसँग मिलेर फुटबल खेल्थिन् । स्कुलमा पनि उनी साथीहरुसँग फुटबल खेल्थिन् । तर, उनलाई त्यतिले मात्र फुटबलको भोग मेटिएको थिएन ।
बूढानीलकण्ठको शारदा एकेडेमीबाट एसईईको अध्ययन पूरा गरेकी प्रीति त्यसअघि ७ मा अध्ययनरत छँदै नेपाल युथ प्रोग्राम क्लबमा प्रवेश गरिन् । त्यतिबेला उनी ११ वर्षकी मात्र थिइन्। क्लबमा प्रवेशससँगै उनले आफूलाई निखार्न थालिन् ।
क्लबमा प्रशिक्षणै दौरानमा प्रीतिले २०७३ सालमा कोकाकोला कप खेल्ने मौका पाइन् । प्रीतिले उक्त कप आइडियल सेकेन्डरी स्कुलबाट खेलेकी थिइन्। एक वर्षपछि प्रीतिले सिन्धुपाल्चोकबाट कोकाकोला कप खेलिन्। त्यसपछि काठमाडौंबाट उपमेयर कप खेलिन्। त्यसपछि प्रीतिले जिल्ला स्तरीय खेलहरू खेल्ने मौका पाइन् ।
फुटबलमा अनवरत यात्रा गरिरहँदा प्रीतिले साफ यू–१८ महिला च्याम्पियनसिप, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिइन् । अब प्रीतिको उत्कृष्ट खेल भोलि असोज ३ गते हेर्न बाँकी छ । असोज ३ गते सोमबार छैटौं साफ महिला च्याम्पियनसिपको फाइनल खेल नेपालले बंगलादेशसँग दशरथ रंगशालमा भिड्दैछ । नेपाल फाइनल खेल जिते नयाँ विजेता बन्नेछ । जबकि अहिलेसम्म नेपालले साफ खेलको ट्रफी उचालेको छैन । जुन यसपाली जसरी हुन्छ उचाल्न चाहन्छ ।