काठमाडौं । शरद ऋतु (अटम सिजन) का लागि भदौँ भदौँ २९ गतेसम्म ८ हजार मिटर मुनि र माथिका हिमाल आरोहणका लागि ४ सय ५४ विदेशी नागरिकले आरोहण अनुमति लिएका छन् । सर्वाेच्च शिखर सगरमाथासहित ८ हिमाल आरोहणका लागि ३४४ पुरुष र ११० महिलाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार बुधबारसम्म शरद ऋतुमा ८८४८.८६ मिटरको सगरमाथा आरोहण गर्नका लागि १ टोलीले मात्र आरोहण अनुमति लिएको छ । उक्त टिममा ४ जना पुरुष र एक महिला रहेकी छन् ।
८१६७ मिटरको धौलागिरी आरोहणका लागि ४ टोलीले अनुमति लिएका छन् । उक्त टिममा २३ पुरुष र ११ महिला गरी ३४ जनाले आरोहण अनुमति पाएका छन् । ६३७८ मिटरको गनछेन्पो हिमाल आरोहणका लागि १ टोलीले अनुमति पाएको छ । टोलीमा ४ महिलामात्र रहेका छन् ।
यस्तै, ७१२६ मिटरको हिमलुङ हिमाल आरोहणका लागि २ टोलीले अनुमति लिएका छन् । २ टोलीमा सात जना रहेका छन् । ७७१० मिटरको कुम्भकर्ण हिमाल आरोहणका लागि १ टोलीमा ४ जनाले आरोहण लिएका छन् ।
यसैगरी ८१६३ मिटरको मनास्लु हिमाल आरोहणका लागि ३७ टिमले अनुमति लिएका छन् । ३७ टिममा ३०२ पुरुष र ९२ जना महिला गरी कूल ३९४ जनाले आरोहण अनुमति लिएका छन् । ७८५५ मिटरको नुप्से हिमाल आरोहणका लागि १ टोलीमा ४ पुरुष र १ महिला गरी ५ जनाले अनुमति लिएका छन् । ६३४६ मिटरको सरिबुङ हिमाल आरोहणका लागि १ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
भदौँ २९ गते बुधबारसम्म शरद ऋतुमा हिमाल चढ्नका लागि ४८ टिमका ४५४ जनाले अनुमति लिएका छन् भने उनीहरुबाट ४ लाख १८ हजार ७५ युएस डलर रोयल्टी संकलन भएको पनि विभागले जनाएको छ ।
हालसम्म कुन देशबाट कतिले लिए आरोहण अनुमति?
शरद ऋतुमा हिमाल चढ्नका लागि अर्जेन्टिनाबाट १५ पुरुष र २ महिला गरी १७, अष्ट्रेलियाबाट ४ पुरुष र २ महिला गरी ६, अष्ट्रियाबाट ३ पुरुष र ३ महिला गरी ६, बंगलादेशबाट १ महिला, बेल्जियमबाट ४ पुरुष, ब्राजिलबाट ३ पुरुष, ब्रिटेनबाट १ महिला, क्यानडाबाट १० पुरुष र १ महिला गरी ११, चिलीबाट २ पुरुष र १ महिला गरी ३, चीनबाट १० पुरुष र ४ महिला गरी १४ जनाले आरोहण अनुमति लिएका छन् ।
यस्तै, कोस्टारिकाबाट १ पुरुष, चेक रिपब्लिकबाट ९ पुरुषर २ महिला गरी ११, डेनमार्कबाट ४ पुरुष र २ महिला गरी ६, इक्वेडोरबाट १ पुरुष, इस्टोनियाबाट १ पुरुष, फिनल्याण्डबाट १ पुरुष र १ महिला, फ्रान्सबाट २७ पुरुष र ४ महिला गरी ३१, जर्जियाबाट १ पुरुष, जर्मनीबाट १० पुरुष र ६ महिला गरी १६, हङकङबाट २ पुरुष, हंगेरीबाट २ पुरुष, भारतबाट २१ पुरुष र ८ महिला गरी २९ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
यसैगरी इराकबाट १ पुरुष र १ महिला, आयरल्याण्डबाट २ पुरुष, इस्लामिक रिपब्लिक अफ इरानबाट २१ पुरुष र ४ महिला गरी २५, इजरायलबाट २ पुरुष, इटालीबाट १५ पुरुष, जापानबाट ५ पुरुष र ३ महिला गरी ८, काजकिस्तानबाट २ पुरुष, कुवेतबाट १ पुरुष, किर्गिज रिपब्लिकबाट ८ पुरुष र १ महिला गरी ७, मलेसियाबाट ४ पुरुष, मेक्सिोकोबाट ९ पुरुष र ३ महिला गरी १२, मोरोक्कोबाट २ महिला, नेदरल्याण्डस्बाट ६ पुरुष र ३ महिला गरी ९, नर्वेबाट १ पुरुष र ५ महिला गरी ६, पाकिस्तानबाट ४ पुरुष र १ महिला गरी ५, पेरुबाट १ महिला, पोल्याण्डबाट ८ पुरुष र ३ महिला गरी ११, पोर्चुगलबाट १ पुरुष, रिपब्लिक अफ कोसोभोबाट १ महिला, म्याकेडोनियाबाट १ पुरुष, रोमानियाबाट ४ पुरुष र ४ महिला गरी ८, रुसबाट १० पुरुष र ९ महिला गरी १९, सिंगापुरबाट ४ पुरुष र २ महिला गरी ६, स्लोभाकियाबाट १ महिला, स्लोभेनियाबाट ८ पुरुष, दक्षिण अफ्रिकाबाट १ महिला, स्पेनबाट १८ पुरुष र २ महिला गरी २०, स्वाजिल्याण्डबाट १ पुरुष, स्वेडेनबाट ३ पुरुष र १ महिला गरी ४, स्वीटजरल्याण्डबाट ९ पुरुष र ५ महिला गरी १४, ताइवानबाट २ महिला, थाइल्याण्डबाट १ पुरुष, टर्कीबाट २ पुरुष, युक्रेनबाट २ पुरुष र १ महिला गरी ३, अरबबाट १० पुरुष, संयुक्त अधिराज्यबाट १२ पुरुष र ३ महिला गरी १५, अमेरिकाबाट ३८ पुरुष र १३ महिला गरी ५१ र भियतनाबाट १ पुरुषले आरोहण अनुमति लिएका छन् ।
कुन टोलीबाट कति रोयल्टी संकलन ?
सगरमाथा आरोहण गर्न लागेको १ टोलीबाट २७, ५०० युएस डलर (३५ लाख ३५०० रुपैयाँ), धौलागिरी आरोहण गर्ने ४ टोलीबाट ३०, ६०० युएस डलर (३८ लाख ९१ हजार ४६५ रुपैयाँ), गन्छेम्पो आरोहण गर्ने एक टोलीबाट ५०० युएस डलर (६३ हजार ८२० रुपैयाँ), हिमलुङ चढ्ने २ टोलीबाट १७५० युएस डलर (२ लाख २२ हजार ३ रुपैयाँ), कुम्भकर्ण हिमाल चढ्ने १ टोलीबाट १५०० युएस डलर (१ लाख ९१ हजार १०० रुपैयाँ), मनास्लु आरोहण गर्ने ३७ टोलीबाट ३ लाख ५४ हजार ६०० युएस डलर (४ करोड ५१ लाख ४८ हजार ५७६.५ रुपैयाँ), नुप्से हिमाल चढ्ने १ टोलीबाट १५०० युएस डलर (१ लाख ९१ हजार २५० रुपैयाँ) र सरिबुङ हिमाल चढ्ने १ टोलीबाट १२५ युएस डलर (१५ हजार ८७७.८६ रुपैयाँ) संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार ४८ टोलीबाट ४ लाख १८ हजार ७५ युएस डलर अर्थात ५ करोड ३२ लाख २७ हजार ५९२.३६ रुपैयाँ रोयल्टी संकलन भएको छ । साथै, आरोहण गर्नेहरुले रोयल्टी तिरेर आरोहण अनुमति लिने क्रम जारी रहेको छ ।