काठमाडौं । पत्रकारिता त्यागेर नेपाली राजनीतिमा छिरेका रवीन्द्र मिश्रले राजनीतिक करिअरलाई राम्रोसँग मलजल गर्न सकेनन् जति पत्रकारितामा गरेका थिए । विवेकशील साझा पार्टीमा बेग्लै धारको राजनैतिक नेतृत्वको विकास गर्ने उनको सोचले खासै फड्को मारेन ।
वैकल्पिक राजनीति गर्ने भनेर जन्मिएको यो पार्टी अन्ततः पूरानो पार्टीजस्तै टुटफुटमा रुमलियो । एकले अर्कालाई कारबाही गर्ने थितिमै रुमलियो यो पार्टी पनि । र, छिन्नभिन्न भए वैकल्पिक पार्टीका वैकल्पिक नेतृत्वकर्ताहरु पनि ।
विचारभन्दा माथि देश हुने तर्क गर्न मिश्र आफूलाई राजावादी, गणतन्त्रवादी वा माओवादी कुनै किसिमको वादी नभएको चिनाउदै आएका थिए । कसैलै राजतन्त्रवादीको गन्ध आएको भन्दा उनी आफू नेपालवादी भन्थे । उनले भनेका छन्, ‘म राजतन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन, म यो देशको समृद्धिवादी हुँ, म यो देशको प्रगतिवादी हुँ। म कुनै किसिमको वादी होइन नेपालवादी हुँ ।’ संघीयता खारेजी, धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्नुपर्ने पनि उनको माग छ ।
तर, आज यिनै मिश्र आफूलाई राजावादी कित्तामा जोडाउँदै छन् । देशमा राजतन्त्र र हिन्दू धर्मको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र (राप्रपा) मा मिश्र आफ्नो टोलीसहित लिएर जान तयार देखिएको बताइएको छ । मिश्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको सहअध्यक्ष पद माग गरेका छन् । राप्रपामा अध्यक्षपछिको उपाध्यक्ष पदको वरियतामा लफडा भइरहँदा सहअध्यक्ष पदमा बुद्धिमान तामाङ र विक्रम पाण्डेले अस्वीकार गरेको बताइएको छ ।
महाधिवेशनबाट जितेर आएका तामाङ र पाण्डेलाई बाइपास गरेर मिश्रलाई अध्यक्षपछिको दोस्रो वरीयता दिइने सहमति भएपछि तामाङ र पाण्डेले बैठकका निर्णयमा हस्ताक्षरसमेत नगरेको राप्रपा स्रोतको भनाइ छ । अहिले नै यदि मिश्रलाई अध्यक्षपछिको वरियता दिइएमा भाँडभैलो हुने स्रोतले बतायो ।
चुनावमा मिलेर जाने चुनावपछि पदीय भागबन्डा मिलाउने भन्ने राप्रपा र मिश्र समूहबीच एकसरो गन्थन भएको छ । साथै, तत्काललाई राप्रपामा मिश्रलाई उपाध्यक्ष बनाएर ल्याउने र चुनावमा जाने नै सक्दो सहमतिको प्रयास भइरहेको राप्रपा स्रोतको भनाइ छ । यस विषयमा मिश्र समूह लचकता र राप्रपामा आउन तयार रहे पनि तत्काल सहमति भने भइसकेको छैन ।
राप्रपा स्रोतका अनुसार घटस्थापनाअघि नै मिश्रसहितको समूह राप्रपा प्रवेश गर्ने तयारी भइरहेको छ । राप्रपामा प्रवेश गरेसर मिश्र काठमाडौं–१ बाटै आगामी प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुने भनिएको छ । २०७४ मा पनि मिश्र यहिँ क्षेत्रबाट चुनाव लडेका थिए तर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए । अब मिश्र राप्रपामा गएर जसरी नि चुनाव जित्ने दाउमा छन् ।