काठमाडौं । काठमाडौं उपत्यका सडकको खाल्टाखुल्टीले गर्दा दुर्घटना हुने गरेको छ दैनिक घण्टा ट्राफिस जाम हुने गरेको छ । तथापि न त सडक विभागको ध्यान गएको न त काठमाडौं महानगरपालिकाले नै यसमा चासो व्यक्त गरेको छ ।
भित्री सडक अवस्था त नाजुक नै छ । मुख्य सडक पनि खाल्टाखुल्टीका कारण धराप बन्दै गएका छन् । काठमाडौंको चक्रपथ, चक्रपथदेखि भित्र छिर्ने सडक, नदी कोरिडोरका सडकका साथै भित्री सडकमा समेत बर्षाका कारण खाल्टाखुल्टी बढेर गएको छ ।
गुणस्तरहीन सडक निर्माण र समयमा मर्मतसम्भार नहुँदा काठमाडौंका सडकभरि खाल्टाखुल्टी र भ्वाङ परेको छ । हरेक वर्ष वर्षाको पानी पर्ना साथ सडकमा खाल्टाखुल्टी हुने गरे पनि यसमा सम्बन्धित निकायले चासो नदेखाउने गरेको भन्दै बानेश्वर निवासी गोपाल शर्माले दुःखेसो पोखे ।
समयमा खाल्टाखुल्टी नपुर्दा स्थानीय र सडक यात्रुले सास्ती भोग्नुपरेको छ । कतिपय दुर्घटनाको सिकारसमेत बन्ने गरेका छन् । सडकको अवस्था सुधार गर्ने विषयमा भने कसैको पनि चासो देखिँदैन । यातायातको साधानमा वृद्धि भएको भयै छ तर सडकको अवस्था भने झन् नाजुक बन्दै गएको छ । स्थानीय सरकारको मातहतमा रहेको खडकको अवस्था झन् डरलाग्दो छ ।