काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीका पोलिटब्युरो सदस्य एवं सांसद सुदन किराती प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका छन् ।
मंगलबार मण्डला थिएटरमा सांसद किरातीद्वारा लिखित पुस्तक ‘पल पलको मृत्यु’ लोकार्पण कार्यक्रममा अध्यक्ष प्रचण्डले किरातीलाई प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिमा मन्त्री या राष्ट्रपति ठूलो कुरो रहेन । माननीय हुनुहुन्छ मन्त्री त भइ नै हाल्नुहुन्छ । राष्ट्रपति त हुने नजिकै छ । तर पनि उहाँ मन्त्री, प्रधानमन्त्री बन्नु हुन्छ । मैले यो कुरा प्रष्ट देखेको छु र उहाँलाई शुभकामना पनि भन्न चाहन्छु ।’’
अध्यक्ष प्रचण्डले जनयुद्धकालमा सांसद किरातीले पुर्याएको योगदानको सम्मान गर्दै पुस्तक प्रकाशित गरेकोमा बधाइसहित शुभकामना दिए । उनले भने, ‘सुदन किराती जल्दोबल्दो युवा नेता हुनुहुन्छ । उहाँले रचनाहरू ल्याउने जमर्को गर्नुभएको छ, सफलताको सिँढी चढ्दै हुनुहुन्छ । शुभकामना छ । यो पुस्तक राम्रो बनेको छ ।’
जनयुद्धसम्बन्धी थुप्रै पुस्तक, उपन्यास लोकार्पण गरे पनि सुदन किरातको ‘पल पलको मृत्यु’ भने आफ्नो लागि अविस्मरणीय क्षण रहेको अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले सांसद किरातीले पहिल्यै आफूलाई निम्तो दिएको भए विशेष तयारी भएर आउने पनि बताए ।
सांसद किरातीको पुस्तकले निकै भावुक बनाएको र यस्ता खालका पुस्तक हजारौँ संस्करण आउनुपर्ने पनि अध्यक्ष प्रचण्डको भनाइ थियो । सत्यमा आधारित यस पुस्तकमा जेल जीवनको बारेमा लेखिएको र मृत्यु कुनैबेला आउन सक्ने त्यो कठीन दिनलाई बडो मार्मिक ढंगले उतारिएको प्रचण्डले बताए ।