काठमाडौं । यस वर्षको दशैंमा नुवाकोटको शिवपुरी गाउँपालिका– ६, गुर्जेमा ‘महाभिडन्त’ हुने भएको छ । आगामी असोज १५ गते दिउँसो एक बजे पाँच टाइटलका लागि १२ रेस्लर (प्रतियोगी)बीच ‘महाभिडन्त’ हुन लागेको हो ।
सबैभन्दा बढी दर्शकको ध्यान खिचिरहेको खेल ‘हेवी वेट म्याच’ च्याम्पियनसिपका लागि नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर र किङ रोबर्टबीच कडा प्रतिस्पर्धा हुने छ । ट्रिपल थ्रेट हार्डकोर म्याचका लागि चट्टान डेभिड र साइनले प्रतिस्पर्धा गर्दैछन् ।
यस्तै, ट्याग टिम म्याचतर्फ बक्का, स्पाइडर म्यान र टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् । फिमेल म्याचतर्फ आकृति र तनुबीच कडा प्रतिस्पर्धा हुनेछ भने लाइट वेट म्याचका लागि सीजे वल्र्ड र सुजल भिड्दै छन् ।
यी पाँच खेलमध्ये ‘हेवी वेट म्याच’ प्रतिस्पर्धा दर्शकका लागि रोजाइमा पर्नेछ । रिङका ‘टाइगर भनेर चिनिने नुवाकोटे टाइगर र किङ रोबर्टबीच कडा प्रतिस्पर्धा हुनेछ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर दोस्रो आरडब्लू समर स्लामको विजेता पनि हुन् । दर्शकलाई उफार्न खप्पिस नुवाकोटे टाइगर रिङमा प्रवेश गरेपछि तहल्का पिट्छन् ।