यस्तो रह्यो काठमाडौंमा चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष लीको पहिलो दिन (तस्वीर)
  • मूलधार

काठमाडौं । सोमबार दिउँसो काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरे । स्वागतपश्चात् अध्यक्ष ली सोल्टी होटेल आरामका लागि पुगे ।

सोल्टी होटेलमा पुगेर केही समयमै पुनः समकक्षी सापकोटासँग नयाँबानेश्वरस्थित संघीय संसद्को भवनमा अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रअनुसार दुवै पक्षबीच आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न सहमति भएको छ ।

 

यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने सम्झौतापत्रमा उल्लेख छ । दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् ।

दुवै पक्षले संसदीय मैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिनेछन् तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् । दुवै पक्षले एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने सम्झौतापत्रमा उल्लेख छ ।

चार दिने भ्रमणका लागि सोमबार दिउँसो काठमाडौं आइपुगेका ली सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका हुन् । साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका ली चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलसहित काठमाडौं आएका छन् । संसद्मा अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् लीको टोली सोल्टी होटेलमा फर्किएको छ । लीलाई सभामुख सापकोटाले रात्रीभोजको आयोजना गरेका थिए ।

सोल्टीमा रात्रीभोजपश्चात् भोलि (मंगलबार) बिहान ९ बजे लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा घेटघाट गर्ने कार्यक्रम तय भएको छ । संसद् भवनमै नेकपा एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भनिएको छ ।

मंगलबार दिउँसो ३ बजेपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग लीले भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने छन् । बुधबार बिहान लीले भक्तपुरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । र, त्यहाँबाट फर्किएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग लीले भेट गर्ने छन् । राष्ट्रपतिसँग भेटेपछि फेरि ली सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणको चौँथो दिन बिहीबार बिहान अध्यक्ष लीको टोली कोरिया प्रस्थान गर्नेछ ।

  • September 12, 2022 प्रकाशित
  • सम्बन्धित