काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु काठमाडौं आइपुगेका छन् । चार दिने भ्रमणका लागि सोमबार दिउँसो काठमाडौं आइपुगेका ली सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका हुन् ।
साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका ली चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलसहित काठमाडौं आएका छन् । विमानस्थलमा लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
विमानस्थलबाट सिधै होटेल सोल्टी गएका लीले आज सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । र, दुई बीचमा संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुने भनिएको छ ।
लीसँगको भेटमा सभामुखसहित सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने जनाइएको छ । रात्री भोज होटेल सोल्टीमै सभामुख सापकोटाले आयोजना गरेका छन् ।
मंगलबार बिहान ९ बजे लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा घेटघाट गर्ने कार्यक्रम तय भएको छ । संसद् भवनमै नेकपा एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भनिएको छ ।
मंगलबार दिउँसो ३ बजेपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग लीले भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने छन् ।
बुधबार बिहान लीले भक्तपुरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । र, त्यहाँबाट फर्किएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग लीले भेट गर्ने छन् । राष्ट्रपतिसँग भेटेपछि फेरि ली सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणको चौँथो दिन बिहीबार बिहान अध्यक्ष लीको टोली कोरिया प्रस्थान गर्नेछ ।