सुनसरी । धरान उपमहानगरका मेयर हर्क साम्पाङले शिक्षालाई माटोसँग जोड्ने अभियान थालेका छन् । शिक्षालाई जीवन्त बनाउने र कलिला मस्तिष्कमा माटोप्रतिको माया जगाउने सुन्दर पहलकदमीसँग ऐकेबद्धता जनाउँदै “प्लान्ट ट्रि फिल फ्री” भन्ने नाराका साथ धरान आर्दश स्कुलका शिक्षक तथा विद्यार्थीहरु गत शनिबार वृक्षारोपण कार्यक्रममा उत्साहित रुपमा सहभागी भए ।
सर्दुखोलाको आसपास बिरुवा लिएर पुगेका टिजएजर विद्यार्थीहरु मेयर हर्क साम्पाङसँग भेट्न ज्यादै उत्सुक देखिन्थे । हाफपेन्ट, कलेजी रङको टिसर्ट र ढाका टोपीमा सामन्य देखिएका मेयरले हिलो लागेको दुई हात जोड्दै हर्षित मुद्रामा विद्यार्थीेलाई स्वागत गरे । धरान आर्दश परिवारलाई स्वागत छ, उपहार पाएको माईक सोज्याउँदै उनले भने–“धरान जाने बित्तिकै मेयरले ढुंगा बोकाउछँ भनेर ट्रोल बनिरहेको छ, तर माटो छुदाँ के बिग्रिन्छ, आज हाम्रो माटो छुने संस्कृति हराएकै कारणले चामल समेत विदेशबाट किन्नु परिरहेको छ ।
प्रत्येक मानिसले माटो चिन्नुपर्छ, यो माटो चिनाउने अभियान हो ।” आलोचकहरुलाई मुखर जवाफ दिन खप्पिस साम्पाङ यसपल्ट पनि आलोचकहरुलाई दनक दिन भ्याई हाले,– “हर्क साम्पाङले केटाकेटीलाई काम लगाएर श्रम शोषण ग¥यो भनेर भन्छन तर म विद्यार्थीलाई मकैको बिरुवा चिनाउँन चाहान्छु, धानको बिरुवा देखाउँन चाहान्छु, यहाँ आएर मर्नेगरी काम गर्नुपर्छ भन्ने होइन माटो चिन्नुहोस्, प्रकृतिसँग रमाउनुहोस ।” विद्यार्थीको गडगडाहत ताली र हुटिङबीच उनले थप उत्साहित हुदैँ भने, मैले मेरा विरोधीहरुलाई खुट्टाको धुलोसँग मात्र दाँजेको छु ।
पाँच मिनेटको भाषण र आधा मिनेटको फोटो सेसन पछि मेयर आफैँ ज्याबल लिएर पाखा झरे । उनलाई पछ्याउँदै कोही विद्यार्थी झाडी फाड्न कोही बिरुवा रोप्न तम्सिए । स्कुलका कक्षा भन्दा हर्क साम्पाङको माटे कक्षामा विद्यार्थीहरु ज्यादै हर्षित देखिन्थे । धरान आर्दश कक्षा ९ मा पढ्ने क्यामरीन माझी भन्दै थिइन्–“ घण्टौँ मोबाईल र इन्टरनेटमा बिताउनु भन्दा प्रकृतिमा एक क्षण बिताउनु कति हो कति आनन्ददायक हुदोँ रहेछ, अब त आईरहनुपर्ला ।”
हिला,ेमैलो, पसिना आदि केहीको पनि प्रवाह नगरी विद्यार्थीहरु बिरुवा रोप्न तलिल्न रहे । एउटा बिरुवा रोप्नु हजारौँ ज्यान जोगाउनु बराबर हो त्यसैले आज बिरुवा रोप्दा खशी लागेको छ, धरान आर्दशकै विद्यार्थी कृष जैन प्रफुल्लित देखिन्थे ।
धरान आर्दशकै शिक्षिका उन्नती लिम्बूले हर्क साम्पाङको माटो बचाऊ अभियानलाई आर्थिक सहयोग पनि गरिन् । माटो चिनाउँने, माटो बचाउँने यो सुन्दर अभियानलाई तन,मन,वचनले साथ दिनुपर्छ मीठो आवाजमा गम्भिर हुदैँ उनले भनिन् माटो चिन्नेले मात्र देशलाई माया गर्छ, त्यसैले आज हामीले हाम्रा विद्यार्थीहरुलाई यहाँ ल्याएका हौँ ।
गणितको शुत्र जति पढ्न आवश्यक छ, माटोको सुगन्ध बुझ्नु त्यो भन्दा ज्यादा आवश्यक हुन्छ ।
कलिला बिरुवा र कलिला मस्तिष्क हाम्रा आशा हुन्, सुन्दर भविष्य हुन । हर्क साम्पाङको यो जीवन्त माटे कक्षा सबै कलिला मस्तिष्कमा याद भएर बाँचिरहनेछ ।
हर्क साम्पाङलाई धन्यवाद ! सेवा !