काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन् ।
बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि बसेको नेपाल क्रिकेट संघ (क्यान) को बैठकले सन्दीपलाई कप्तानबाट निलम्बन गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’
२०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो । तर, मंगलबार १७ वर्षीया नाबालिगले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा उजुरी दिएपछि उनीमाथि प्रहरीले चौतर्फी अनुन्धान थालेको थियो ।
सन्दीप हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा रहेका छन् । उनलाई इन्टरपोलको सहायतामा पक्राउ गरी नेपाल ल्याउन सकिने बताइएको छ ।