निमा डोमा : जो श्रीमानको मृत्यु खोज्न सगरमाथा उक्लिन् (भिडियाे)
  • नवीन चाम्लिङ

  • नवीन चाम्लिङ

सन्तानको भविष्य काँधमा बोकेर हिँडेका श्रीमानको मृत्युको पीडा श्रीमतीलाई कस्तो हुन्छ ? पेटमा हुर्किँदै गरेको बच्चा र समाजको टोकसो सहिरहँदा कुन बाटो रोज्न मन होला ? यसको जवाफ निमाको मौनताले भन्छ । श्रीमान बितेपछिका २ हिउँद र बसन्त कस्तो थियो ? निमाले देखिनन् । समाजले अनेक कुरा काट्यो, छोरी पेटमा हुर्किँदै थिइन् । २ वर्षपछि निमाले आफैँले आफैँलाई सम्हालिन् । र, नयाँ बाटो रोजिन् ।

‘श्रीमान हिँडेको र बितेको बाटो कस्तो हुँदोरहेछ ? एकचोटी हेरौँ न भनेर नै सगरमाथा समिट गरे,’ मनभित्र गुम्सिएका पीडा दबाएर ३८ वर्षीया निमा डोमा शेर्पाले गहँभरी आँशु पार्दै सुनाउन थालिन् आफ्ना व्यथा । सुन्दा कुनै पूरानो नेपाली कथानक चलचित्रजस्तै लाग्छ निमाको जीवन कहानी । सन् २०१९ मा निमाले सगरमाथा चढिन् । एक्कासी सगरमाथा चढ्ने आँट कसरी आयो ? परिवारको मुख्य खम्बा नै ढलेपछि निमा कमजोर भइन् । परिवार पाल्ने कसरी ? परिवार त जसरी पालिएला तर श्रीमानको मृत्यु कसरी भयो ? बस उनी यत्ति जान्न र बुझ्न चाहिन्थन् ।

हिमालमा श्रीमानको मृत्यु कसरी भयो भन्नेमात्र निमा जान्न चाहन्थिन् । हिमाल चढ्दा श्रीमानले भोगेका दुःखहरु उनी पनि भोग्न चाहिन्थन् । जसले उनलाई सान्त्वना दिन्थ्यो । र, हिम्मत लिइन् सगरमाथा चढ्ने । एक सय रुपैयाँ रकम संकलन गरेर उनले सगरमाथा चढिन् । जब उनले हिमाल चुमिन् अनि बुझिन् श्रीमानको देहावसन र हिमाल चढ्नुको पीडा । सहयोगी हातहरुले हिमाल चढ्दा चाहिने सबै सामग्रीहरु उपलब्ध गराए । निमाले गाउँमै आइस क्लाइम्बिङ र माउन्टेन गाइड कोर्स पनि लिइन् ।

निमालाई हिमाल चढेर नाम कमाउनु थिएन । श्रीमान हिँडेको बाटो आफैँले हेर्नु र भोग्नु थियो । निमाले श्रीमानको मृत्यु कसरी भयो भन्ने अनुसन्धान गरिन् । सगरमाथाको टुप्पोमा पुगेर संसार जितेजस्तो भानले होइन श्रीमान सम्झेर रोइन् । सगरमाथाको टुप्पोमा उनलाई ज्यानको कुनै पर्वाह थिएन । सगरमाथाको टुप्पो त उनलाई श्रीमानको न्यानो काखजस्तो लाग्यो ।

सोलुखुम्बुको खुम्जुङमा दुःखमै हर्किइन्, बढिन् र आठ कक्षासम्म पढिन् निमा । सानो छँदा बुवा हिमाल चढ्थे । हिमाल चढेर घर फर्कंदा बुवा झोलाभित्र प्लास्टिकमा चकलेट बोकेर ल्याउँथे । निमा चकलेट पाएपछि निकै खुसी हुन्थिन् । बुवाले चकलेट टिपेर ल्याउनुहुन्छ भन्ने सोच्थिन् त्यतिबेला निमा । बुवाले चकलेट कसरी ल्याउथे छोराछोरीका लागि भन्ने कुराको भेउ पनि सगरमाथै चढेर (क्याप ४) बुझिन् । चकलेट त टिपेर होइन कुइरेले दिएको चकलेट र क्यान्टिनको खाजा बुवाले नखाई ल्याएका रहेछन् । यो सम्झेर निमा भावुक भइन् । परेलीको डिलमा आँशुको तप्का चुहाइन् ।

श्रीमानको मृत्यु ? श्रीमान २००४ बाट ट्रेकिङमा प्रवेश गरेका हुन् । २०१४ मा क्याम्प २ को कुक बनेर (किचन ब्वाइ) पर्वतारोहण गर्दा हिमपहिरोमा मृत्यु उनको भयो । परिवारको सबथोक नै दैवले लुटेर लगेपछि २ वर्षसम्म श्रीमानकै सम्झनामा रोएर बसिन् निमा । समाजका चिनेजानेकाले श्रीमानको मृत्युपश्चात् अनेक कुरा काटे । सुन्न नसकिने शब्दहरु भने । निमाले त्यसलाई सन्तानका लागि भनेरै जबर्जस्ती पचाइन् । अहिले पनि निमालाई विगतले झस्काइरहन्छ । तैपनि उनी सम्हालिन्छिन् सन्तानका लागि ।

श्रीमान बितेको २ वर्षपछि को कुरा हो । एकल महिलाहरुको कार्यक्रममा भाग लिन गइन् निमा पनि । उनले त्यहाँ नयाँ अनुभव लिइन् । श्रीमानको निधनले विक्षिप्त बनेका उनी त्यो कार्यक्रमले सम्हालिइन् । आफूभन्दा जेठी एकल महिलाहरुको अवस्था देखेर उनी मन दह्रो बनाइन् । कोही एक महिने बच्चा काखमा च्याँपेर आउँदा उनी आफूलाई सम्हालिन्, कठोर बनिन् । र, अठोट कसिन्– ‘श्रीमान हिँडेको बाटो जसरी नि हिँड्छु, हेर्छु ।’

हिमाल चढ्नुअघि कतिपयले यो पनि भने– ‘केटी भएर तिमीहरु किन सगरमाथा चढ्ने हँ ? गाउँमा आएर आलु रोप न । श्रीमानहरु त्यहिँ मरेको, तिमीहरु पनि त्यहिँ मर्न जान लागेको हो ।’ यीे तिखा बचनलाई निमा वास्ता गरिनन् । उनलाई श्रीमान हिँडेको बाटो हेर्नु थियो र सान्त्वना लिनु थियो ।

त्यतिबेला छोरा ६ वर्षका थिए, छोरी ३ वर्षकी थिइन् । छोरी सोधिरहन्छिन् – ‘ममी बाबा कहिले आउनुहुन्छ हिमालबाट फर्केर ।’ आमाको पीडा थाहा पाइसकेको छोरो यो सोध्दैन– ‘बुवा कहिले आउहुन्छ ?’ छोरा अहिले ८ कक्षामा पढ्छन् । श्रीमानको मृत्युपश्चात् दोस्रो घरजम र नयाँ जीवनको बाटो रोज्नु बाध्यता हो । तर, निमाले त्यो रोजिनन् । समाजको कुरा पनि सुनिन् । उनी केवल श्रीमान हिँडेको बाटो हिँड्न चाहिन् । हिँड्दा हिँड्दै ठेस लागे श्रीमानले भोगेको पीडा भनेर यहिँ रहेछ भन्ने प्रण गरिन् । र, उनी आजिवन यहिँ प्रण गर्न चाहन्छिन् ।

सगरमाथा आरोहणपछि निमासहित एकल महिलाको टोली बालुवाटार पनि गयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई टोलीले भेट्यो । राष्ट्रपतिकै अगाडि उभिएर निमाले आफ्नो माग र पीडाहरु आँशु झार्दै बुँदागत रुपमा सुनाइन् । आँशुसरी सुनाएका ती मागहरु अहिले सुकिसके । निमाजस्ता एकल महिलाहरुको माग छ– पर्वतारोहण गर्नेक्रममा ज्यान गुमाएका पर्वतारोहीहरुका बालबच्चा (कम्तिमा एउटा बच्चा) को शिक्षा र स्वास्थ्य सरकारले अनिवार्य रुपमा हेरिदियोस् । निमाजस्ता ३ सयभन्दा बढी एकल महिलाहरु छन् जो सरकारको सहयोग अपेक्षा गरिरहेको छ ।

हिमाल चढ्न मद्धत गर्ने, सिकाउने, चुलीमा पुर्याउनेहरु सरकारका सेनाजस्तै हुन् । जस्ले देशको अर्थतन्त्रमा टेवा पुर्याउने पर्यटकको सुरक्षा गरिरहेका छन्, गरिरहन्छन् । तर, सरकार यी सबैलाई केवल शेर्पा भनेरमात्र चिन्दछ । देशको एउटा सच्चा सुरक्षाकर्मी पहरेदार भनेर होइन । शेर्पा त्यो समुदाय हो जो हिमाली भेगमा जन्मन्छ, विश्वलाई हिमाल चिनाउँदै अरुका लागि आफ्नो ज्यान आहुति दिन्छ, देशको ढुकुटी भर्छ र त्यसको बदलामा राज्यबाट उपेक्षा र अपमान पाउँछ ।

अहिले यहिँ उपेक्षा निमाले मात्र होइन अन्य एकल महिलाले पनि खेपिरहेका छन् । निमा जेनतेन दुई बच्चाको लालनपालन गरिरहेकी छन् । भन्छिन्, ‘राज्यसँग भिख मागेर हारिसके । अब जहिलेसम्म नौनरी खियाएर पाल्न र पढाउनु सक्छु त्यतिन्जेल पढाउछु ।’ अहिले निमा सिजनमा ट्रेकिङमा निस्कन्छिन् । त्यहिँबाट आएको रकमले बालबच्चा पाल्छिन्, पढाउछिन् । पर्यटनबाहेकको आम्दानी उनीसँग छैन । हाल कपन बस्ने निमा श्रीमानको निधनपछि परिवारको खम्बा बनेर आफैँ हुन्, परिवार उनैले सम्हाल्दै आएकी छन् ।

  • September 6, 2022 प्रकाशित
  • सम्बन्धित