अहिले र पहिलेका हाम्रा पर्यटन मन्त्री
  • मूलधार

काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नामसँग सँगै बदनाम पनि कमाएर मन्त्रालयबाट बिदा भए । पर्यटनमन्त्री रहँदा बतास समूहले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र सञ्चालन गर्नै लागेको रेस्टुरेन्ट हटाएर एकाएक ‘हाइट’ मा आएका थिए उनी। उनी आफैँ नारायणहिटी छिरेर तत्काल बतास समूहमाथि एक्सन चलाएका थिए । पछि पशुपतिभित्र पनि कब्जा गरेर बसेको बतास समूहलाई त्यहाँबाट खेदाएपछि उनको झनै लोकप्रियता चुलिएको थियो ।

यसरी चारैतिरबाट वाहीवाही पाइरहँदा मन्त्री आले बोलेको अडियो बाहिरियो । जगत ओली नामक युवासँग मन्त्री आलेको चर्काचर्की परेको सुनिन्छ अडियोमा । चर्काचर्कीकै क्रममा मन्त्री आलेले तथानाम सुन्नै नसकिने गाली बर्साएका छन् । उक्त अडियोले मन्त्री आलेको नैतिकता गिरेकोदेखि राजीनामासम्मको माग भयो । तर, मन्त्री आलेले अडियोकै कारण भने राजीनामा दिएनन् ।

यसअघि वन तथा वातावरणमन्त्री रहँदा नीला रंगका अक्सिजन सिलिण्डरमा ‘वनमन्त्री प्रेम बहादुर आले’ टाँसेर वितरण भएको अक्सिजन सिलिन्डर र सात गेयरमा सरकार अघि बढ्छ भन्ने भाषणले उनी निकै आलोचित बनेका थिए । तर, वन मन्त्रीपछि देउवा सरकारमा पर्यटन मन्त्रालय सम्हालेपछि उनले त्यो छविलाई केही सुधारे ।

राम्रो र नराम्रो छवि दुवै कोणबाट परिचित रहँदै गर्दा उनी देउवा सरकारबाट बाहिरिए । र, उनको सिटमा पार्टीले नयाँ पर्यटनमन्त्री बनाएर जीवनराम श्रेष्ठलाई पठायो ।

मन्त्रालय र मन्त्रीको जिम्मेवारी पहिलोपटक सम्हालेका श्रेष्ठले मन्त्रीको कार्यभार सम्हाल्नुअघि पर्यटन क्षेत्रमा आमूल परिवर्तन गर्ने बाचा पनि गरे । र, उनको यात्रा हाल जारी छ । यहिँ क्रममा आइतबार मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टर पुगे । भिएफएस बायोमेट्रिकका लागि पत्नीसहित त्यहाँ पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गर्यो । तर, मन्त्री श्रेष्ठले सुरक्षागार्डले चिनेर पनि अन्य सर्वसाधारणजस्तो नचिनेजस्तो गरेपछि झोक्किए । र, विवाद पनि भयो ।

सुरक्षागार्डसँगको विवादपछि मन्त्री श्रेष्ठ त्यहाँबाट निस्किएर हिँडे, गरूड सेक्युरिटिजका सुरक्षाकर्मी शेरजंग गुरूङ पक्राउ परे । पक्राउ पर्नुको कारण थियो– मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार । र, त्यहिँ आरोपमा उनी हिरासतमा चलान भए ।

यति सानो कुरामै मन्त्री श्रेष्ठले सुरक्षाकर्मी गुरुङलाई हिरासत चलान गर्नुपर्ने कारण के थियो भन्दै अहिले मन्त्रीको चौतर्फी राजीनामा माग भइरहेको छ । मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भइरहँदा मन्त्री श्रेष्ठका स्वकीय सचिव भीम रावहाकले विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड गुरूङले गल्ती महशुस गर्दै प्रहरीसमक्ष माफी मागेकोले नियन्त्रणमुक्त गरिदिन गृहमन्त्रालयलाई आग्रह गरिएको भनेका छन्। अब खेलै खत्तम त भएकाे हाेला ?

 

  • September 5, 2022 प्रकाशित
  • सम्बन्धित