काठमाडौं । आज (सोमबार) देखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवामा रोक लगाइएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनबमोजिम सरकारले आजदेखि कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न पाउने छैन ।
आगामी मंसिर हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनभरका लागि आजदेखि कर्मचारी नियुक्ति, सरुवा र बढुवा गर्न नपाउने आयोगले जनाएको छ । आयोगले भदौ २ गते कुनै पनि स्थानमा रिक्त रहेको स्वीकृत दरबन्दीलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि जनाएको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै अब पूर्ण रुपमा नियम पालना गर्नुपर्ने आयोगले जनाएको छ । यसअघि निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरूमा कर्मचारी व्यवस्थापन कमिटी पनि गठन भएको छ ।