काठमाडौं । मन्त्रीलाई लाइनमा बस्न लगाउँदा हिरासत पुर्याइएका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङले आफ्नो गल्ती स्वीकारेले नियन्त्रणमुक्त गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भनेका छन् ।
सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिव भीम रावहाकले विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड गुरूङले गल्ती महशुस गर्दै प्रहरीसमक्ष माफी मागेकोले नियन्त्रणमुक्त गरिदिन गृहमन्त्रालयलाई आग्रह गरिएको भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सामान्य पदीय मर्यादालाई समेत ख्याल नगरी सुरक्षा गार्ड गुरूङले मन्त्रीज्यू र सुरक्षाकर्मी समेतलाई अभद्र व्यवहार गरेको विषयलाई लिएर नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएकोमा उनले प्रहरी समक्ष गल्ती महशुस गरिसकेकोले नियन्त्रणमुक्त गरिदिन मन्त्रीज्यूले गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’
आइतबार सुरक्षाककर्मी गुरुङ ठमेलबाट पक्राउ परेका थिए । उनीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लगाइएको थियो ।
मन्त्री श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसमा पत्नीसहित जाँदा सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यस विषयमा दुई बीचमा विवाद पनि भएको थियो । विवादपछि काम सकेर मन्त्री श्रेष्ठ गएलगत्तै सुरक्षा गार्ड गुरुङ पक्राउ परेका थिए । सुरक्षा गार्ड गुरुङले नियम कानुन सबैलाई बराबरी भन्दा उल्टै पक्राउ भन्दै मत्री श्रेष्ठविरुद्ध चौतर्फी आलोचना भइरहेको छ ।
मन्त्रीविरुद्ध रिट दायर
यसैगरी सुरक्षाकर्मी गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सुरक्षाकर्मी गुङकी पत्नी आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।