पर्यटन मन्त्री श्रेष्ठविरुद्ध मुद्दा दायर, सुरक्षागार्ड गुरूङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन
  • मूलधार

काठमाडौं । मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्दा उल्टै हिरासत पुर्याइएका गरूड सेक्युरिटिजका सुरक्षाकर्मी शेरजंग गुरूङलाई रिहाइ गर्न गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई गृहमन्त्री खाणले सुरक्षाकर्मी गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

आइतबार सुरक्षाकर्र्मी गुरुङ ठमेलबाट पक्राउ परेका थिए । उनीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लगाइएको थियो ।

मन्त्री श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसमा पत्नीसहित जाँदा सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यस विषयमा दुई बीचमा विवाद पनि भएको थियो । विवादपछि काम सकेर मन्त्री श्रेष्ठ गएलगत्तै सुरक्षा गार्ड गुरुङ पक्राउ परेका थिए ।

सुरक्षा गार्ड गुरुङले नियम कानुन सबैलाई बराबरी भन्दा उल्टै पक्राउ भन्दै मत्री श्रेष्ठविरुद्ध चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्रीविरुद्ध रिट दायर

यसैगरी सुरक्षाकर्मी गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सुरक्षाकर्मी गुङकी पत्नी आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

 

  • September 5, 2022 प्रकाशित
  • सम्बन्धित