२५ घरको सक्रियताले दम्कु बन्यो उदाहरणीय गाउँ
  • मूलधार

खोटाङ । ‘चाहे भने के हुँदैन ?’ भन्ने खोटाङ रावाबेसी गाउँपालिकाका युवाहरुले उदाहरणीय कामको थालनी गरेका छन् । युवाहरुको पहलमा २५ घर आबद्ध भई बनेको संस्थाले अहिले गाउँमा बेग्लै छाप छाडेको छ ।

हो, खोटाङको दम्कु राईटोल गाउँ सबैका लागि उदाहरणीय गाउँ बनेको छ । खेटाङको रावावेसी गाउँपालिका, दम्कु राईटोलका यूवाहरुको सक्रियतामा खोलिएको इन्द्रेणी सेवा समाज क्लवले ‘इन्द्रेणी भवन’ निर्माण गरेसँगै गाउँ उदाहरणउन्मुख बन्न थालेको हो ।

इन्द्रेणी भवनमा गाउँघरमा हुने सामाजिक एवं शुभ कार्यका गतिविधि हुने गरेका छन् । जुन कार्यले गाउँलेहरुको एकता झन् बलियो भएको छ । संस्थाका सचिव टीकाराम राईका अनुसार सामिाजक भवनमा संस्कारअनुसारका सबै कार्यहरु हुन्छन् । उनी भन्छन्, ‘सहर बजार जाँदा शुभ विवाहलगायतका सामाजिक कार्यक्रमहरु पार्टी प्यालेसमा गरेको देखियो । हामीले पनि सबैलाई एकीकृत गर्नका लागि गाउँमा पनि त्यसको विकल्प खोजी गर्यौँ । र, श्रमदान गरेरै भवन निर्माण गर्यौँ ।’

भवन निर्माणका लागि आवश्यक भौतिक सामग्री खरिदाका लागि २५ घर वर्गीकरण नै गरिएको थियो । वर्गीकरणका आधारमा आर्थिक रकम संकलन भएको सचिव राईले बताए । यस्तै, यस सामाजिक कार्यमा देश विदेशमा छरिएर रहेकाहरुले पनि आर्थिक सहगोग गरेको उनले बताए ।

गाउँका सबैलाई सामाजिक एकतामा बाँध्न पनि सजिलो हुने, सबैलाई शुभकार्यमा पनि सहज हुने मनसायका साथ संस्था स्थापना भएको उनको भनाइ छ । उनका अनुसार संस्थाका सदस्यहरुले आर्थिक र भौतिक रुपमा श्रमदान गरेर संस्था निर्माण गरिएको हो ।

२५ घर मिलेर जन्मेको संस्थाले गाउँलाई उदाहरणीय बनाएको छ । अहिले गाउँ सहरजस्तै झिलिमिली छ । ग्रामीण सडकका छेउछेउमा बिजुली बत्ति जडान गरिएको छ । राति राईटोल हेर्दा सहरको तिर्खा मेटिन्छ । दम्कु गाउँको यो दृश्यले गाउँपालिकाको समेत ध्यान खिचिएको छ । अहिले दम्कु गाउँ पुग्नेहरु आफ्नो गाउँ पनि दम्कुजस्तै बनाउन चाहन्छन् ।

  • August 31, 2022 प्रकाशित
  • सम्बन्धित