पर्यटकको पर्खाइमा बसिरहेको धर्तीको स्वर्ग अर्थात् शैलुङ (फोटोफिचर)
  • मूलधार

काठमाडौं । छिनमै घाम, छिनमै बादल । कहिले कुहिरो र सिर्सिरे बतास। एकै छिनमा पानी नै बर्सिन पनि के बेर !

सय वटा थुम्काका लुङ शैलुङ, त्यो पनि मालाका लुङजस्तै लहरलहरमा मिलेका । कतै जोल्ठिएजस्ता, कतै अङ्कमाल गरेजस्ता र कतै आपसमा मिलेर टाँसिएजस्ता । अनेक बान्कीका थुम्काहरू । जता हेर्यो त्यतै कलात्मक परिदृश्य । हेरेर र घुमेर त, खै को पो अघाउला र यहाँ पुग्नेहरू जस्तो लाग्ने । मेरो मन पनि लुटपुटिनुसम्म लुटपुटिरह्यो । आँखाहरूले तनतनी सौन्दर्य पिई नै रहे, नथाकी ।

कस्तो भव्य थुम्काथुम्की ! सिपालु कलाकारले सीप लगाएर सुमसुम्याएर राखेजस्ता । सुकिला, सफा र स्निग्ध । मसिनामसिना भुइँघाँस र भुइँफूलहरू । मानौं, दुबोजस्तै देखिने एकनासका घाँसे गलैँचाले छोपिएका छन् थुम्काहरू ।

यहाँ पुग्ने हरकोही सैलुङको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । सयौ वर्ष पहिले ऋषिमुनीहरु तपस्यामा थिए । कलि युगसँगै ऋषिमुनीहरु पाप देख्न नपरोस् भनेर त्यही ठाउँमा बिलिन भए । तीनै ऋषिमुनी बिलिन भएका प्रत्येक ठाउँमा थुम्का निस्किए र तामाङहरुले ती थुम्कालाई शैलुङ नामाकरण गरे भन्ने किम्बदन्ती छ । त्यही शैलुङले अहिले पर्यटक पर्खिरहेको छ ।

समुन्द्र सतहदेखि ३४ सय मिटरको उचाइमा रहेको शैलुङ रामेछाप र दोलखाको सिमानामा पर्दछ । शैलुङको धेरै भाग रामेछापमा पर्दछ भने केही भाग दोलखामा पर्दछ ।

काठमाडौंबाट बीपी मार्ग हुँदै सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदीमा रहेको सित्खा पुल तरेर दोरम्बा निस्कँदै शैलुङ पुग्न सकिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट पनि खाँडादेवी हुँदै दोरम्बा निस्किएर शैलुङ पुग्न सकिन्छ । यसै गरी रामेछापकै फुलासी, डडुवा हुँदै पनि शैलुङ जाने बाटो छ ।

दोलखाको कालापानीबाट पनि शैलुङसम्म पुग्ने सडक बनेको छ । चारैतिरबाट सडक सञ्जालमा जोडिएको कारण शैलुङ सहज पर्यटकीय गन्तव्य बनेको छ । शैलुङ काठमाडौं र तराईका घुम्न चाहनेको लागि समेत केन्द्र पनि हो । त्यसैले यो पहाड, उपत्यका र तराईको सङ्गम थलो जस्तै बनेको छ ।

हिउँदमा हिउँ र फागुन–चैतमा विभिन्न जातका गुराँसले ढाक्ने शैलुङ अहिले विभिन्न जातका भुँइ फूल सिँगारिएको छ । शैलुङको काखमा चरिरहेको चौँरी र भेडाले थप आकर्षण थपेको छ । प्राकृतिक रूपमा बनेका आकर्षक एक सय बढी थुम्का शैलुङमा छन् । तिनै थुम्काको कारण शैलुङ नामाकरण भएको हो । तामाङ भाषमा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ । यसैबाट शैलुङ नामाकरण भएको मानिन्छ ।

शैलुङबाट हिम श्रृङखलाका साथै टाढासम्मको भूभाग समेत अवलोकन गर्न सकिने भएकोले पनि यसको छुट्टै महत्व छ । अहिले शैलुङको टुप्पोमा टावर निर्माण गरी दृश्यावलोकनको लागि शैलुङलाई थप आकर्षक बनाइएको छ ।

  • August 28, 2022 प्रकाशित
  • सम्बन्धित