काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको भुईँ तल्लामा अवैधानिक रुपले सञ्चालन गरिएको कोठा भत्काएको छ । भुईँ तल्लाको उक्त कोठामा अवैधानिक संरचना बनाएर औषधि पसल चलाइएको थियो ।
अवैधानिक रुपमा बनाइएको भौतिक संरचना निरीक्षण गर्न पुगका मेयर बालेन साहले अल्फाबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्मालाई नियमविपरीत बनाइएको अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए । तर, शर्माले नमानेपछि मेयर शाह आक्रोशितसँगै महानगर कार्यालय पुगी हातमा नक्सा र डोजर ल्याएर आफ्नै उपस्थितिमा भुईँ तल्लाको कोठा भत्काएका थिए ।
अल्फा बिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको थाहा पाएपछि मेयर शाहले त्यो हटाउन ३५ दिन अगाडि नै सूचना जारी गरिएको पनि बताए । उनका अनुसार महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो ।
हिजो मात्रै महानगरले काठमाडौं मल, आरबी कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काएको छ । अब, क्रमश अन्य ठाउँहरुमा पनि बनाइएको अवैध संरचना तत्काल भत्काउन मेयर शाहले निर्देशन दिइसकेका छन् ।
अवैधानिक संरचना भत्काएपछि मेयर शाहले अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काउदा केही नबिराएको बताएका छन् ।
अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भनेर पनि सबैलाई कानुन बराबर लाग्ने पनि भनेका छन् । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिनु होल,’ उनले भनेका छन् ।