काठमाडौं । पर्वतीय प्रशिक्षणका लागि प्रशिक्षकसहित प्रशिक्षण टोली हिमाली भेग मनाङको काङ्लातर्फ प्रस्थान गरेको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजीए) को नियमित प्रशिक्षणअनुसार बिहीबार (आज) एस्पिरेन्ट गाइड कोर्स कम्पोनेन्ट ३ का लागि ५ जना प्रशिक्षकसहित ७ जना प्रशिक्षार्थीहरु काङ्लातर्फ प्रस्थान गरेका हुन् ।
संघद्धारा भदौ ५ देखि सुरु भइरहेको एस्पिरेन्ट गाइड कोर्स कम्पोनेन्ट ३ अन्तर्गत प्रशिक्षण तथा परीक्षाका लागि टोली मनाङको काङ्ला प्रस्थान गरेको हो । आज बिहान संघको कार्यालयमा आयोजित प्रस्थान कार्यक्रममा संघका महासचिव छिरिङ जाङ्बु शेर्पाले टोलीलाई सफल प्रशिक्षण कार्यक्रम र शुभकामनासहित बिदाई गरेका हुन् ।
प्रशिक्षण टोलीमा प्रमुख प्रशिक्षक तथा वरिष्ठ पर्वतारोहण प्रशिक्षक लामबाबु शेर्पा, प्रशिक्षकहरुमा नरेन्द्र शाही, पासाङ काजी शेर्पा, रितेन जाङ्बु शेर्पा र पासाङ वाङ्चु शेर्पा सहभागी रहेका छन् ।
अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक महासंघ (आइएफएमजीए)को प्रशिक्षण मापदण्डअनुरुप सञ्चालन भएको प्रशिक्षण कार्यक्रमको पहिलो खण्डतर्फ २० दिन र दोस्रो खण्डतर्फ १९ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ भने २२ दिने खण्डको प्रशिक्षण कार्यक्रममा पर्वतीय भूगोल तथा इतिहासको सैद्धान्तिक कक्षाबारे प्रशिक्षण दिइएको थियो ।
संघको प्रशिक्षण कार्यक्रमअन्तर्गत सञ्चालने हुने अन्तिम परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीहरुलाई नेपाल सरकारअन्तर्गतको प्राविधिक शिक्षा तथा ब्याबसायिक तालिम परिषद (सीटीइभीटी) मातहतको राष्ट्रिय सीप परीक्षण समितिबाट उच्च तह (स्नातक समकक्षता) को सीप परीक्षण गर्ने ब्यबस्था पनि मिलाइएको छ ।
विभिन्न समयमा आयोजना गरिने प्रशिक्षण कार्यक्रमका लागि नेपाल पर्वतारोहण संघ, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानजस्ता सम्बन्धित क्षेत्रका संघ, संस्थाहरुबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको छ ।
के हो एनएनएमजीए ?
नेपालमा नै अन्तर्राष्ट्रियस्तरका दक्षता प्राप्त पर्वतारोहण पथ प्रदर्शक (माउन्टेन गाइड) को उत्पादनसँगै विकास गर्ने उद्देश्यासाथ स्थापना भएको एनएनएमजीले यहिँ उद्धेश्यअनुरुप पर्वतीय पर्यटनमा अतिआवश्यक मानव संशाधन अर्थात् माउण्टेन गाइड उत्पादन गरिरहेको छ । हालसम्म एनएनएमजीएले ७१ जना दक्ष माउण्टेन गाइड उत्पादन गरेको छ ।
सन् २००५ अप्रिल ४ मा स्थापना भएको एनएनएमजीले प्रोफेसनल माउण्टेन गाइड उत्पादनका लागि आइएफएमजीसँग सहकार्य गर्दै आएको छ । सन् १९६५ मा स्थापना भएको आइएफएमजीएमा २६ देशहरु संलग्न छन् । आइएफएमजीए यीनै देशहरुबाट उत्पादन हुने माउण्टेन गाइडहरुको छाता संगठन हो । साथै, एनएनएमजीए त्यो संस्था हो जस्ले दक्ष माउण्टेन गाइड उत्पादन गर्छ ।